मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

निजगढ विमानस्थलको गुरुयोजना बनाउने कम्पनीको टुंगो लाग्यो

शेयर००

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको छ । प्राधिकरणले शुक्रबार लेटर अफ इन्टेन्ट जारी गर्दै निजगढ विमानस्थलको गूरुयोजना र भैरहवा विमानस्थलको समानान्तर ट्याक्सी वे निर्माणको परामर्शदाताको टुंगो लागेको जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार निजगढ विमानस्थलको अध्यावधिक गुरुयोजना निर्माणको जिम्मेवारी सीजी इन्फ्राटा-बीडीएले पाएको छ । गुरुयोजना निर्माणको प्रयोजनका प्राधिकरणले मागेको आसयपत्रमा १ दर्जन कम्पनी इच्छुक देखिएका थिए । त्यसबाट ६ वटा कम्पनीको सर्ट लिस्टिङ गरिएको थियो ।

६ वटा कम्पनीबाट प्राधिकरणले विस्तृत प्रस्ताव मागेको थियो । सो क्रममा तीन वटा कम्पनीबाट प्रस्ताव परेको थियो । विस्तृत प्रस्ताव बुझाएका मध्ये सबैभन्दा कम मूल्य कबुल गरेको सीजी इन्फ्राटा-बीडीए छनोट भएको हो ।

प्राधिकरणका अनुसार यो कम्पनीले २९ करोड ८९ लाख ९० हजार रुपैयाँमा गुरुयोजना निर्माणको जिम्मा पाएको हो । यसअघि गत असोजमा निजगढ विमानस्थल निर्माणलाइ गति दिने सन्दर्भमा पर्यटन मन्त्रालयले गूरुयोजना निर्माण गर्न कम्पनी छनोटको काम अबिलम्ब सक्न प्राधिकरणलाई निर्देशन दिएको थियो । सीजी इन्प|mाटा-बीडीए जेभीले नेपाली कम्पनी जोशी एशोसिएटसँगको समन्वयमा काम गर्नेछ ।

उता, शुक्रबार नै प्राधिकरणले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको साविकको धावनमार्गलाई समानान्तर ट्याक्सीवे बनाउन आवश्यक डिजाइन तथा सुपरभिजनका लागि समेत परामर्शदाता छनोट गरेको छ ।

कुल २४ करोड ४० रुपैयाँमा परामर्श सेवा उपलब्ध गराउने गरी सिंगापुरको मिन्हार्ट लिमिटेडले जिम्मा पाएको छ । नेपाली कम्पनी कार्ड कन्सल्ट र नेपाल कन्सल्टसँगको समन्वयमा यो कम्पनीले गौतमबुद्ध विमानस्थलको ट्याक्सी वे निर्माणमा परामर्श सेवा दिनेछ ।

निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलमा अहिले आन्तरिक उडानमा प्रयोग भइरहेको धावनमार्गलाई पुननिर्माण गरी समानान्तर ट्याक्सी-वे बनाइने छ । नयाँ धावनमार्गबाट भने जहाजहरुको उडान-अवतरण हुनेछ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।