आजको संसद बैठकमा एमसीसी टेबल हुनेमा अन्यौल, सत्ता गठबन्धन थप छलफलमा

बौद्धिमाई न्यूज डेस्क, फाल्गुन ०४ गते काठमाण्डौ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन ।
प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा छैनन् । यसले आजको संसदमा एमसीसी टेबल हुनेमा अन्यौल बढाएको छ ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय नै गरेको छ । हिजो बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । एमसीसी टेबल नहुने सम्भावना बढेपछि संसद बैठक अघि आज तीन दलका प्रमुख नेताबीच छलफल हुँदैछ । एमसीसीबारे प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच हिजो पनि छलफल भएको थियो । प्रचण्ड र नेपालले एमसीसीमाथि पार्टीमा आन्तरिक छलफल भइरहेकाले हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसीसीबारे थप छलफल गर्न संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।
बैठक बिहान साढे ११ बजे बस्नेछ । अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा पर्नु भएको छ । नेपाली कांग्रेसले एमसीसी सम्झौता संसद्बाट पारित गराउने निर्णयसमेत गरिसकेको छ । आज प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबल गर्ने जिम्मेवारी दिएका उहाँको सचिवालयले जनाएको छ । २०७४ सालमा अर्थमन्त्री रहेकै बेला कार्कीले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।
वर्तमान अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा अनुपस्थित हुने बताएपछि एमसीसी टेबल गर्ने जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिइएको हो । प्रतिनिधिसभा बैठकको कार्यसूचीमा भने एमसीसी सम्झौता राखिएको छैन । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि संसद बैठकमा अवरोध गर्ने जनाएको छ । सत्ता गठबन्धनले परामर्श नै नगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि असन्तुष्ट बनेको एमालेले एमसीसी पारित गर्नेरनगर्ने निर्णयमा सहभागी नै नभई सदन अवरोध गर्ने भएको हो । एमालेले एमसीसीबारे विषय प्रवेश नै नगरी संसदमा नाराबाजी गर्ने जनाएको छ ।

16 Push 077 final