रौतहटमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ११ ट्र्याक्टर प्रहरी नियन्त्रणमा, ६२ हजार ५०० रुपैयाँ जरिवाना

प्रेमचन्द्र झा
कार्तिक ०३गते

रौतहट । रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्य नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले असोज महिनामा विभिन्न स्थानबाट ११ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने कार्यको नियन्त्रण तथा रोकथामका लागि परिचालन गरिएको प्रहरी टोलीले विभिन्न स्थानबाट ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका ट्र्याक्टरमा ना.७ त २५५८, प्रदेश २–०३–००१ त ३७१४, ना.४ त ४६८३, ना.६ त ६५९९, प्रदेश २–०३–००१ त ५३७४, ना.७ त ४६३३, ना.७ त ६६९, प्रदेश २–०३–००१ त २४३९ र ना.६ त ८३५० नम्बरका ट्र्याक्टर रहेका छन्। यसैगरी, नम्बर नखुलेको ‘अन टेस्ट’ ट्र्याक्टरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको थियो। स्थानीय तहबाट गरिएको कारबाहीका क्रममा कुल ६२ हजार ५०० रुपैयाँ जरिवाना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नदीजन्य पदार्थको अवैध उत्खननले नदीको प्राकृतिक बहाव, तटीय क्षेत्र, कृषि भूमि तथा वातावरणमा प्रतिकूल असर पार्न सक्ने भएकाले यसको नियन्त्रण आवश्यक मानिन्छ। विशेषगरी नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले बाढी तथा कटानको जोखिम बढाउन सक्ने भएकाले सम्बन्धित निकायबीच समन्वय गरी नियमित अनुगमन र प्रभावकारी कारबाही गर्नुपर्ने देखिन्छ।

अवैध उत्खनन नियन्त्रणका लागि प्रहरीको सक्रियतासँगै स्थानीय तहले पनि उत्खननको अनुमति, निर्धारित मापदण्ड तथा राजस्व संकलनसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ। नियमित अनुगमन र कानुनविपरीत कार्य गर्नेमाथि निरन्तर कारबाही हुन सके नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।