
औरैयामा निःशुल्क आँखा शिविरमा ४२८ जनाले आँखा परीक्षण गराए, ८३ जना शल्यक्रियाका लागि छनोट
रौतहट, २७ असोज । ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या पहिचान गरी समयमै उपचार सेवा पुर्याउने उद्देश्यका साथ गौर आँखा अस्पताल पुरेनवाले सञ्चालन गरिरहेको बृहत् निःशुल्क आँखा स्वास्थ्य सम्बन्धि महाअभियान मंगलवार इशनाथको औरैयाका नागरिक समक्ष सेवा प्रदान गर्का छन् ।
ईशनाथ नगरपालिका–३ औरैया स्थित जनता माध्यमिक विद्यालयमा आयोजित निःशुल्क आँखा शिविरबाट ४२८ जना सेवाग्राहीहरु प्रत्यक्ष रुपमा लाभान्वित भई सेवा लिएका हुन् ।
युवा समाजसेवी राकेश पटेलको विशेष पहल तथा सहकार्य, रुइत फाउन्डेसनको आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालको आयोजना तथा प्राविधिक सहयोगमा शिविरको आयोजना गरियो ।
शिविरमा २६६ महिला र १६२ पुरुषले सेवा लिए । परीक्षणका क्रममा मोतिबिन्दु तथा अन्य जटिल आँखा समस्या देखिएका ८३ जना बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
छनोट भएका बिरामीलाई अस्पतालकै सवारीसाधन मार्फत अस्पताल सम्म ल्याउने तथा उपचारपछि पुनः घरसम्म पुर्याउने व्यवस्था गरिने उनले बताए । शिविरमा आवश्यकता अनुसार ३०७ जना सेवाग्राहीलाई निःशुल्क औषधि समेत वितरण गरिएको उनले भने ।
सुयोग बलम्पाकी र अमित दासको संयुक्त नेतृत्वमा ललित झा, शिवशंकर महतो, सन्तोष यादव, गौरीशंकर राउत सहित सात जना प्राविधिक कर्मचारीको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो ।
गौर आँखा अस्पतालले यस अभियानलाई निरन्तरता दिँदै आगामी कात्तिक १० गते परोहा नगरपालिकाको जिंगडवामा अर्को निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको संयोजक पाण्डेले जानकारी दिए । उनका अनुसार स्थानीय नागरिकलाई शिविरमा उपलब्ध हुने निःशुल्क आँखा परीक्षण, परामर्श तथा उपचार सेवाको लाभ लिन आग्रह समेत गरे ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी — आँखा सेवामा सबैको साझेदारी” भन्ने मुल नाराका साथ समुदायस्तरमै आँखाका समस्या पहिचान, समयमै उपचार र अन्धोपन न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको यस महाअभियानले ग्रामीण तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा प्रभावकारी रुपमा गौर आँखा अस्पताल पुरेनवाले उपलब्ध गराउदै आएका छन् ।


