गौर कांग्रेसको नगर नेतृत्वमा युवा समाजसेवी मोहन यादवको काँधमा, सर्वसम्मत नगर समिति चयन

रौतहट, १२ असोज । नेपाली कांग्रेस गौर नगरपालिकाको नगर सभापतिमा युवा तथा समाजसेवी मोहन यादव सर्वसम्मत चयन भएका छन् ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगर अधिवेशनले यादवको अध्यक्षतामा नगर कार्यसमिति सर्वसम्मत चयन गरेका हुन् ।
पार्टीभित्र लामो समय देखि सक्रिय रहँदै आएका यादवलाई नगर नेतृत्वको जिम्मेवारी पुनः दिइएसँगै गौर नगरपालिकामा कांग्रेसको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
नगर अधिवेशनमा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताले सहमतिको माध्यमबाट नेतृत्व चयन गर्दै पार्टीभित्र एकता र सहकार्यको सन्देश दिए । नयाँ नेतृत्वले स्थानीय तहमा पार्टीको संगठन विस्तार, कार्यकर्ता बीच समन्वय तथा जनता सँगको सम्बन्धलाई थप मजबुत बनाउने प्राथमिकता लिने बताइएको छ ।
नगर सभापतिमा चयन भएपछि यादवले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारी पूर्वक निर्वाह गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक बीच सहकार्य र एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
गौर स्थित रौतहट रेष्ट हाउसको सभा हलमा सम्पन्न नगर अधिवेशनमा कांग्रेसका स्थानीय तथा प्रदेशस्तरीय नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।