स्कुटर दुर्घटनाः दुई भारतीय किशोरको मृत्यु, दुई घाइते

रौतहट, ३० कार्तिक । रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित पुलमा स्कुटर ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सोमबार अपराह्न ४ बजेको समयमा झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा उक्त दुखद घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
दुर्घटनामा परी यमुनामाई गाउँपालिका–५ झुनखुनवा का १५ वर्षीय आकाश पासवान, भारतको सीतामढी जिल्ला भकुरहर निवासी खेदु पासवानको १७ वर्षीय छोरा सुनिल पासवान, जमुवा गाउँका राजकुमार पासवानको १६ वर्षीय छोरा प्रिन्स पासवान र मुनिलाल पासवानको १८ वर्षीय छोरा अनिकेत पासवान घाइते भएका थिए ।
घटनाको जानकारी पाउना साथ प्रहरी चौकी बडहर्वाबाट खटिएका प्रहरी टोलीले घाइते चारै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएका थिए । उपचारकै क्रममा चिकित्सकले अपराह्न ४ः३० बजे प्रिन्स पासवान र अनिकेत पासवानलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
मृतक दुवै किशोरको शव प्रादेशिक अस्पताल गौरमै राखिएको प्रहरीले जनाए ।
दुर्घटनामा परी घाइते आकाश पासवानको दुवै हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल गौरमै उपचार भइरहेको हुँदा अवस्था मध्यम रहेको छ ।
टाउकोमा चोट लागेका सुनिल पासवानको गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाए । उनको अवस्था पनि मध्यम रहेको जनाइएको छ ।
दुर्घटनामा परेको स्कुटरलाई प्रहरी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।