परोहामा निःशुल्क आँखा शिविर सम्पन्नः १७८ जनाले लिए सेवा, ३८ जना मोतिबिन्दुको शल्यक्रियाका लागि छनोट

रौतहट, १० कार्तिक । ‘आँखालाई माया गरौँ, आँखाको सुरक्षा गरौँ’ भन्ने मूल नाराका साथ गौर आँखा अस्पतालले सञ्चालन गरिरहेको निःशुल्क आँखा उपचार महाअभियान रौतहटको परोहा नगरपालिकामा सम्पन्न भएको छ ।
परोहा नगरपालिका–१ स्थित अकवर प्राथमिक विद्यालय, जिङ्गडवा बेलबिछवामा सञ्चालित निःशुल्क आँखा शिविरबाट १७८ जना लाभान्वित भएको हो ।
वडा अध्यक्ष शेख समीउल्लाहको विशेष पहल तथा स्थानीयको सहकार्यमा सम्पन्न शिविरमा १७८ जनालाई आँखासम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा परीक्षण गरिएका मध्ये ३८ जना मोतिबिन्दुका सम्भावित बिरामीलाई शल्यक्रियाका लागि छनोट भएको तथा ९६ जनालाई औषधि मार्फत उपचार सेवा प्रदान गरिएको गौर आँखा अस्पतालले जनाए ।
शल्यक्रियाका लागि छनोट भएका बिरामीलाई अस्पताल सम्म लैजाने, आवश्यक शल्यक्रिया गर्ने र उपचारपछि घरसम्म पुर्याउने व्यवस्था मिलाइने जनाइएको छ । यसले आर्थिक अवस्था कमजोर भएका तथा अस्पताल सम्म पुग्न कठिनाइ भोगिरहेका ग्रामीण क्षेत्रका नागरिकलाई राहत पुग्ने अपेक्षा अस्पतालले गरे ।
कात्तिक १२ गते नरकटियामा अर्को शिविर
गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार महाअभियानलाई निरन्तरता दिँदै यही कार्तिक १२ गते परोहा नगरपालिका–८, नरकटिया स्थित मदरसामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी भईरहेको छ ।
संयोजक पाण्डेले मौसम प्रतिकूल हुने पूर्वानुमानका बाबजुद स्थानीय नागरिकको उत्साहजनक सहभागिता, जनप्रतिनिधिको सहयोग र विभिन्न संस्थाको सहकार्यले अभियानलाई निरन्तरता दिन प्रेरणा मिलिरहेको बताए ।
रुइट फाउन्डेसनको सहयोग, तराई टप र उज्यालो टीभीको प्रचारप्रसार
शिविर रुइट फाउन्डेसनको आर्थिक सहयोगमा परोहा नगरपालिका–१ का वडा अध्यक्ष शेख समीउल्लाहको विशेष पहल तथा तराई टप र उज्यालो टीभीको प्रचारप्रसार सहयोगमा सम्पन्न भएको छ ।
अस्पतालका लालबाबु साह तथा अशोक पासवानको नेतृत्वमा सञ्चालित शिविरमा अंकित साह, हरिनारायण साह, कृष्ण राउत, गौरीशंकर राउत लगायत सात सदस्यीय प्राविधिक टोलीले आँखाको परिक्षण गरेका थिए । टोलीले स्थानीय नागरिकलाई आँखा परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको कार्यक्रम संयोजक पाण्डेयले जानकारी दिए ।
गाउँमै आँखा उपचार सेवा, मोतिबिन्दुको समयमै पहिचानमा जोड
गौर आँखा अस्पतालले सञ्चालन गरेको महाअभियानको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउनु, मोतिबिन्दुको समयमै पहिचान गर्नु तथा आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने बिरामीलाई आवश्यक सेवाको पहुँचमा पुर्याउनु हो ।
जनप्रतिनिधि, युवा समाजसेवी, स्थानीय नागरिक तथा विभिन्न संस्थाको सहकार्यले अभियानलाई प्रभावकारी बनाउन मद्दत पुगेको छ । आगामी दिनमा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरी धेरैभन्दा धेरै नागरिकलाई लाभान्वित गराउने लक्ष्य रहेको अस्पतालले जनाए ।
आँखाको नियमित परीक्षण, समयमै रोगको पहिचान र आवश्यक उपचारबाट दृष्टि गुम्ने जोखिम कम गर्न सकिने भएकाले अस्पतालले सर्वसाधारणलाई आँखा स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे ।