
सामाजिक संजालमा प्रचार गर्नु भन्दा नेतृत्वलाई नागरिक समक्ष जवाफदेही बनाउनुपर्नेः राजनीतिक विश्लेशक चिरञ्जीवी सिंहको संचारकर्मीलाई सुझाव
राजनीतिक विश्लेशक एवं नेपाली काँग्रेसका युवा नेता चीरञ्जीवी सिंहले सामाजिक संजाल फेसबुकमा केही बेर अघि पोष्ट गर्दै चिन्ता व्यक्त गरेको छ । उनले आफनो राजनीतिक अनुभव संगै विचार यसरी राख्नु भएको छ ।
आदरणीय सञ्चारकर्मी साथीहरू, एउटा विनम्र सुझाव !
‘फलाना उम्मेदवार, चिलाना उम्मेदवार’ भन्दै सामाजिक सञ्जालमा सम्भावित उम्मेदवारहरूको नाम सार्वजनिक गर्नुभन्दा सम्बन्धित व्यक्तिलाई स्वयं आफ्नो उम्मेदवारी घोषणा गर्ने वातावरण निर्माण गरौं । सञ्चारकर्मीको आफ्नै विश्वसनीयता, प्रतिष्ठा र फेस भ्यालु हुन्छ । त्यसलाई क्षणिक चर्चा र प्रचारको पछि लागेर कमजोर नबनाऔं ।
नेतृत्व गर्ने आकांक्षा राख्ने व्यक्तिले आफ्नो विचार, दृष्टिकोण, योजना र प्रतिबद्धता सहित नागरिकसामु प्रस्तुत हुनु कुनै लाजको विषय होइन । बरु, जनताको प्रतिनिधि बन्न चाहने व्यक्तिले खुलेर आफ्ना एजेन्डा सार्वजनिक गर्नु र नागरिकका प्रश्नको सामना गर्नु लोकतान्त्रिक संस्कार हो । सामाजिक सञ्जालमा उम्मेदवारको नाम प्रचार गर्ने माध्यम मात्र होइन, नागरिक र नेतृत्वबीच प्रत्यक्ष संवाद स्थापित गर्ने प्रभावकारी लोकतान्त्रिक मञ्च पनि हो । त्यसैले उम्मेदवारहरु स्वयं आफ्नो उम्मेदवारी घोषणा गरून्, आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गरून् तथा नागरिकका प्रश्नको जवाफ दिऊन् ।
कसले उम्मेदवारी दिने भन्ने चर्चा गर्नुभन्दा कसले के गर्ने, कसरी गर्ने र जनता प्रति कति उत्तरदायी बन्ने भन्ने विषयलाई प्राथमिकता दिनु आजको आवश्यकता हो । नागरिकले प्रश्न गर्ने र नेतृत्वले जवाफ दिने संस्कारको विकास भए मात्र राजनीति प्रचारमुखी होइन, उत्तरदायी, पारदर्शी र जनमुखी बन्न सक्छ ।
सञ्चारकर्मीको भूमिका उम्मेदवारको नाम चर्चामा ल्याउनुमा मात्र सीमित हुनु हुँदैन । नेतृत्वको विचार, नीति, योजना, विगतको कार्यसम्पादन र भविष्यको प्रतिबद्धता माथि प्रश्न उठाउँदै नागरिकलाई सही सूचना उपलब्ध गराउनु पनि पत्रकारिताको महत्वपूर्ण दायित्व भित्र पर्दछ ।
त्यसैले, आदरणीय सञ्चारकर्मी साथीहरू, उम्मेदवारको नाम प्रचार गर्ने माध्यम मात्र नबनौं; उम्मेदवारलाई नागरिकसामु उभ्याएर प्रश्न गर्ने, जवाफ खोज्ने र नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउने पत्रकारिताको अभ्यास गरौं ।
किनकि लोकतन्त्रमा उम्मेदवारको चर्चा हुनु मात्र ठूलो कुरा होइन, नागरिकले उम्मेदवारलाई चिन्न, बुझ्न र प्रश्न गर्न पाउनु अझ ठूलो कुरा हो ।
राजनीति विचारमा दखल राख्ने विश्लेशक सिंहको विचारलाई तराई टप अनलाईन ले समर्थन गर्दै पत्रकारिता समाजको हितमा, मानिसको भलोमा, सभ्य समाज निर्माणमा, शिक्षामा, स्वास्थ्यमा, गैरकानुनी हरेक गतिविधिलाई समाजबाट कसरी अन्त्य हुने वातावरण तयार गर्नमा संचारकर्मी र संचार क्षेत्रको महत्वपूर्ण भुमिका रहेको हुँदा यहाँको पत्रकारितालाई पार्दर्शी एवं निष्ठाबान हुनु अति नै आवश्यक रहेको ठानेको छु ।