हनुमान मन्दिरबाट चाँदीका गरगहना, दानपेटिका चोरी गरेको आरोपमा दुई जना नाबालक मलंगवामा पक्राउ

                         एआईको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर

सर्लाही, ८ कात्तिक । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ ।
मन्दिरबाट चाँदीको मुकुट, माला, टीका लगायतका गरगहना चोरी गरेको आरोपमा ति दुई नाबालकलाई पक्राउ गरेको हो ।
सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवं इन्सपेक्टर किशोर केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा आईतवार विहान ३ बजेको समयमा मन्दिरमा चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले मन्दिर परिसरबाटै १६ र १३ वर्षका दुई नाबालकलाई नियन्त्रणमा लिन सफल भएयो ।
पक्राउ परेका दुवै जना १८ वर्षमुनिका भएकाले प्रहरीले उनीहरूको नाम गोप्य राखेर आवश्यक अनुसन्धान अगाडी बढाएको विज्ञप्तीमा उल्लेख रहेको छ ।
चाँदीका गरगहना चोरी, दानपेटिका भने नभेटिएको प्रहरीले जनाए ।
मन्दिरबाट हनुमानजीको मूर्तिमा लगाइने चाँदीको मुकुट, माला, टीका तथा अन्य चाँदीका गरगहना चोरी भएका छन् । ति सबै सामानहरु दानपेटिकामा रहेको तथा त्यसमा कति रकम रहेका थिए यकिन जानकारी नभएको मन्दिरका पुजारीलाई उढृत गर्दै सर्लाही प्रहरीले जानकारी दिएको छ ।
घटनापछि प्रहरीले मन्दिर परिसरमा प्रारम्भिक अनुसन्धान गरेको थियो । पक्राउ परेका नाबालकहरू यसअघि पनि चोरीका घटनामा संलग्न रहेको र बाल सुधार गृहमा बसेर छुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रेषित विज्ञप्तीमा उल्लेख छ ।
धार्मिक सद्भाव भड्काउने गतिविधि नगर्न प्रहरीको आग्रह
हनुमान मन्दिरमा भएको चोरीको घटनालाई कुनै पनि धर्म वा सम्प्रदाय सँग जोडेर नहेर्न प्रहरीले आग्रह गरेको छ । प्रारम्भिक अनुसन्धानबाट घटना धार्मिक तथा साम्प्रदायिक उद्देश्यले नभई चोरी गर्ने मनसायबाट मात्रै भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाए । घटनामा अन्य व्यक्तिको संलग्नता भए उनीहरूको समेत पहिचान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ ।
घटनालाई लिएर धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधि नगर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्ता गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं सूचना अधिकारी केसीले जानकारी दिए ।