
धनुषा, ८ कार्तिक । धनुषाको मिथिला बिहारी नगरपालिकामा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेको घटनाले सनसनी मचाएका छन् ।
मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर स्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको हत्या भएको आशंका गरिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाले सिंगो पालिकाभरी सनसनी मचाएका हुन् ।
प्रहरीका अनुसार रिनादेवीको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मिथिला बिहारी नगरपालिका–४, भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली घर पुगेको बताइएको छ ।
घटनामा मृतक दम्पतीका चार वर्षीय छोरा पनि घाइते भएको देखिन्छ । बालकको एउटा तिघ्रामा धारिलो हतियार प्रहार भएको घाउ देखिएको धनुषा प्रहरीले जनाए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
श्रीमान–श्रीमती दुवैको मृत्यु हुनुको कारण, घटनामा कसको संलग्नता छ र बालक कसरी घाइते भए भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको उनले भने ।