
जनकपुरधाम, ५ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको जनाएका हुन् ।
यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंसिर ४ गते अपराह्न ४ बजेसम्मको समय दिएका थिए ।
तर, तोकिएको समय भित्र कुनै पनि दलबाट दाबी नपरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाए ।