
साझेदारी वन क्षेत्रबाट रुख ढालिन्छः तर वन कर्मचारी सुइको पाउदनन, तस्करी हुँदै गर्दा समातिन्छन् ?
रौतहट, १२ असोज । रौतहटको साझेदारी वन क्षेत्रमा रहेका बहुमूल्य सालको रुख ढालिन्छन् तर वन कर्मचारी सुइको समेत पाउदैनन, तस्करीको माध्यमबाट लैजादै गर्दा बल्ल समातिने नाटक मञ्चन गरिन्छ ? यस्तै हर्कत रौतहटको वन क्षेत्रमा जारी रहेका छन् ।
चन्द्रपुर नगरपालिका–७ स्थित रंगपुर साझेदारी वनबाट सालको गोलिया काठसहित एक जना पक्राउ परेका हुन् ।
गएराति करिब ९ बजे चन्द्रपुर सब–डिभिजन वन कार्यालय र रंगपुर साझेदारी वनको संयुक्त टोलीले नयाँबस्ती कटानी देखि उत्तरतर्फ गस्ती गर्ने क्रममा साइकलमा सालको गोलिया काठ ओसार्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
गस्ती टोलीले ५ थान सालको गोलिया (२४.७० क्युबिक फिट), ३ थान साइकल र १ थान पिन्चा (आरा) बरामद गरेको छ । पक्राउ परेका व्यक्ति चन्द्रपुर–७ नयाँबस्ती कटानीका स्थानीय रहेको वन कार्यालयले जनाए ।
काठ सहित पक्राउ परेपछि वनभित्रै रुख काटेर गोलिया बनाउँदा सम्म निगरानी नपुग्नुले वन सुरक्षाको प्रभावकारिता माथि स्थानीयले प्रश्न उठाए । उनीहरू काठ वन क्षेत्रबाट बाहिरिए पछि बरामद गर्नेभन्दा वनभित्रै रुख काट्न नदिने गरी गस्ती र निगरानी किन बढाएनन ? भने स्थानीयहरु प्रश्न उठाए ।
पक्राउ परेका व्यक्ति, काठ तथा बरामद सामग्री डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाए ।