
सर्लाही, १२ असोज । सर्लाहीको हरिवन नगरपालिका–८ स्थित कैलाशपुरी क्षेत्रमा रहेका एक मन्दिरमा रातभर लाखौंको कौडाका माध्यमबाट जुवा खेलाइने गरेको रहस्य सार्वजनिक भएको छ ।
तराई टपलाई प्राप्त सूचना अनुसार उक्त स्थानमा लामो समयदेखि कौडा मार्फत ठूलो रकमको जुवा सञ्चालन भइरहेको दाबी गरिएको हो । स्रोतले जुवा सञ्चालनमा स्थानीय देखि जिल्ला र प्रदेश तहसम्मका सुरक्षा अधिकारीसँग ‘सेटिङ’ मिलाइएको आरोप छ ।
घुर्कौलीका सुकमान लामाले जुवा सञ्चालन गरिरहेको र इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत सहायक हवलदार (घुमुवा) दिनेशप्रसाद यादवले व्यवस्थापनमा सहयोग गर्ने गरेको दाबी श्रोतले गरे ।
यस विषयमा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलासँग प्रतिक्रिया लिन खोजिए पनि सम्पर्क हुन सकेन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डीएसपी बेदप्रसाद गौतमले भने आफूलाई यसबारे जानकारी नरहेको बताए । उनले घटनाबारे तत्काल प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्ने जानकारी दिए ।
चाँडपर्वको समयमा स्थानीय क्षेत्रमा ठूलो रकमको जुवा सञ्चालन भइरहेको दाबी सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउनुपर्ने अन्यथा उक्त कार्यमा सुरक्षाकर्मीको संलग्नता रहेको प्रष्ट हुने ति श्रोत बताउँछन् ।