
चन्द्रपुरमा रेबिजविरुद्ध जनचेतना, ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’
चन्द्रपुर (रौतहट), १२ असोज । ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने मुल नाराका साथ रौतहटको चन्द्रपुर नगरमा रेबिज विरुद्ध जनचेतना रयाली प्रदर्शन गरेर विश्व रबिज विरुद्धको दिवस भव्य रुपमा मनाइयो ।
चन्द्रपुर नगरपालिका पशुसेवा शाखा, चन्द्रनिगाहपुरद्वारा आयोजित रेबिज रोगको जोखिम, रोकथाम र सावधानी बारे जनचेतना फैलाउने उद्देश्यका साथ भव्य रुपमा कार्यक्रम गरेर दिवसलाई मनाइएको हो ।
रयाली पश्चात कोर्ण सभामा परिणत भएका सभालाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बद्रिराज ढकालले रेबिज लागेपछि ज्यानै जान सक्ने भएको हुँदा समयमै सचेत हुनुपर्ने बताए । उनले कुकुर तथा बिरालोलाई नियमित रुपमा रेबिज विरुद्धको खोप लगाउन आग्रह समेत गरे ।
यस वर्षको विश्व रेबिज दिवसको मूल नारा ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ रहेको छ । कार्यक्रममा रेबिज संक्रमित जनावरले टोकेमा घाउलाई तत्काल साबुनपानीले राम्ररी धोएर स्वास्थ्य संस्थामा पुग्नुपर्ने तथा आवश्यक खोप लगाउनु पर्ने जानकारी गराइयो ।
पशु कार्यालयका स्वास्थ्यकर्मीहरूले घरपालुवा कुकुर तथा बिरालोलाई नियमित खोप लगाउँदा मानिसमा रेबिज संक्रमणको जोखिम घटाउन सकिने बताए ।
पशुसेवा शाखाकी प्रमुख रीता थापाले पशुबाट मानिसमा सर्न सक्ने रोगको रोकथाम तथा जनचेतनाका लागि आगामी दिनमा यस प्रकारका कार्यक्रमहरु समय समयमा संचालन गरिने प्रतिबद्धता जनाइन ।
सो रयाली कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्ले सहित नगरपालिकाको पशु सेवा शाखामा कार्यारत कर्मचारीहरु, स्थानीय बासिन्दाहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
