रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप
रबिन्द्र प्रजापति, चैत ५ गते रौतहट । रौतहटमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ ।
जिल्लाको कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया गाउँमा होली मनाउने क्रममा शुक्रबार राति झडप भएको हो ।
झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।
झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा दुवै पक्षका गरी तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये वडा अध्यक्ष यादवका भतिज राजकुमार यादवको टाउकोमा गहिरो चोट लागेको र उनकै पक्षका महबुब मिंयाको अनुहारमा गहिरो चोट लागेको छ ।
उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
त्यसैगरी जयसवाल पक्षका घाइते जटाशंकर साहको गरुडास्थित एउटा नीजि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले वडा अध्यक्ष रामाज्ञा यादव सहित ५ जना लाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।