नागरिकता माग गर्दै ढल्केवरमा प्रदर्शन, तीनजना पक्राउ

रबिन्द्र प्रजापति, फागुन २३ गते रौतहट ।

धनुषामा नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शन गरिरहेका तीनजना युवक पक्राउ परेका छन् ।

सोमबार धनुषाको ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा नागरिकता विहिन नेपालीको समूहले नागरिकता विधेयक छिटो पारित गर्न माग राख्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरी टोलीले नागरिकता विहिन सङ्घर्ष समिति नेपालका केन्द्रीय संयोजक जित साफीसहित तीन जनालाई पक्राउ गरेको हो ।

नागरिकता विहिन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोले केन्द्रीय संयोजक साफी, रविन्द्र कुशवाहा र अशोक साहलाई प्रहरीले पक्राउ गरी लगेको बताए ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले विरोध प्रदर्शनको नाउँमा चक्का जाम गर्ने प्रयास गरेपछि तीन जनालाई नियन्त्रणमा लिएको बताए ।

पूर्व निर्धारित प्रदर्शनका कार्यक्रमअनुसार मिथिला नगरपालिका संघर्ष समितिले लोकमार्गमा प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनकारीले ढल्केवरस्थित पूर्वपश्चिम लोकमार्गमा धर्ना दिँदै केहीबेर राजमार्ग सडक अवरुद्ध समेत पारेका थिए ।

‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दे’ लगायतका नारा उल्लेखित ब्यानर तथा प्लेकार्ड बोकेर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए ।

संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनु पर्ने र आमाको नामबाट समेत नागरिकता दिनु पर्ने मागसहित दवाव मुलक सातदिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।

नागरिकताको माग गर्दै पटक–पटक तीनै तहको सरकारलाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनवाई नभएपछि बाध्य भएर सडकमा उत्रिनु परेको नागरिकता विहिन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीरले जानकारी दिए ।

नागरिकता प्राप्तिका लागि सुरु भएको राजमार्ग केन्द्रित आन्दोलन २७ गतेसम्म निरन्तर चल्ने उनले भने ।

error: Content is protected !!