धनुषामा भारतीय नम्बर जीपको ठक्करबाट एक जनाको मृत्यु

बौधिमाई
साउन १ गते धनुषा
धनुषामा भारतीय नम्बर प्लेट जीपको ठक्करबाट ढल्केबरका एक व्यवसायीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मिथिला नगरपालिका–६ ढल्केवरका ४५ वर्षीय शिवलाल यादव रहेका छन् ।
शनिबार राति १० बजे जनकपुर ढल्केबर सडक खण्ड अन्तरर्गत मिथिला नगरपालिका–६ स्थित ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१
एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीपका चालक बसही पुल नजिक नियन्त्रण गुमाएपछि जीप पल्टिएर यादव सवार मोटरसाइकल च्यापिएको थियो ।
च्यापिएर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शनिबार राति साढे एघार बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी ढल्केवरस्थित दुर्गामन्दिर नजिक बिसौं वर्षदेखि कपडाको व्यापार गर्दै आएका थिए ।
दुर्घटनामा संलग्न जीप र त्यसका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षिय मन्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

error: Content is protected !!