आश्वासन दिएपछि आफू प्रतिनिधिसभा छोडी प्रदेशसभामा चुनाव लडेको खुलासा

कार्तिक २८ गते, रौतहट। नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आफूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि आफू प्रतिनिधिसभा छोडी प्रदेशसभामा चुनाव लडेको खुलासा गरेका छन्।
रौतहट स्थित आफ्नै निवास बिरनगरामा आज पत्रकार सम्मेलनको आयोजना गरी सभापति यादवले यस्तो खुलासा गरेका हुन्।
सत्ता गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ ( ख) का प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका कांग्रेस सभापति यादवले आफू प्रतिनिधिसभामा लड्न चाहेको भएपनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको दबाबका कारण प्रदेश सांसदमा चुनाव लड्नु परेको बताए ।
पार्टी अध्यक्ष देउवा, प्रचण्ड र माधव नेपालले तपाईं प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यमा लड्नुस जितेपछि तपाईंलाई नै हामी मधेश प्रदेशको मुख्यमन्त्री बनाइदिन्छु भन्ने आग्रह गरेपछि बाध्य भएर आफू प्रदेश सांसदमा चुनाव लडेको उनले बताए ।
मंसिर ४ गते हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बन्ने र गठबन्धनको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री आफू बन्ने उनले दाबी गरे ।
आफू मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यमा चुनाव लडेकोले जनताको अपार बहुमत सहित निर्वाचित भई मुख्यमन्त्री बन्ने उनले बताए।
पाँच दलीय गठबन्धनको पूर्ण साथ र सहयोग रहेको कारण आफ्नो जीत सुनिश्चित नै रहेको उनले दाबी गरे ।
आफू संग कसैको प्रतिस्पर्धा नरेहेको दाबी गर्दै उम्मेदवार यादवले आफू जीतको नजिक रहेकोले निर्धक भएर रुखमा मतदान गरी आफूलाई विजयी गराउन उनले सबैलाई आग्रह गरेका छन्।
आफू चुनाव जितेपछि सर्व प्रथम कृषि, शिक्षा र स्वास्थ्य लाई विशेष प्राथमिकता दिएर काम गर्ने उनले बताए। चुनाव का बेला जनतासँग गरेको प्रतिबद्धता चुनाव जितेपछि हर हालमा पूरा गर्ने प्रतिवद्धता उनले जनाए।

16 Push 077 final