रौतहटको गौरमा गएराती भीषण आगलागी, तीन जना बालबालिकाको ज्यान गयो

मंसिर ०८ गते रौतहट । रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ माईस्थान चौकस्थित इस्लाम कपडा–डसना पसल र त्योसँगै टाँसिएर रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजेतीर आगलागी हुँदा दुईजना बालिका र एकजना बालकको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मो।इस्लाम मियाकी ९ वर्षकी छोरी रुक्साना खातुन, ५ वर्षकी छोरी सबिना खातुन र ७ वर्षको छोरा इमरान मन्सुरी रहेको रौतहटका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार घटनामा तीनजना घाइते भएका छन् । इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको उनले बताए । उनीहरुको गौर अस्प्तालमा उपचार भैरहेको छ । एसपी बुढामगरका अनुसार आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए। गएराति मिया परिवारमा एकजना बच्चाको न्वारन थियो । दिप बालेर वा विद्युत शर्ट भएर घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनामा करिब ४० लाखको क्षति भएको एसपि बुढा मगरले जनाए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।प्रहरीका अनुसार घरमा भिषण आगलागि भइसकेपछि मात्र परिवारले थाहा पाएको थियो ।
प्रहरीलाई घटना भएको झण्डै ४५ मिनेटपछि जानकारी गराइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको थियो ।

16 Push 077 final