जसपा नेता अशोककुमार यादवको , विगतमा सात वटा कसुरमा मुद्दा चलिसकेकोः जिल्ला प्रहरी कार्यालय सर्लाहीको खुलासा

सर्लाही, २१ असार । सर्लाहीका एसपी संग गालीगलौज गर्ने जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोककुमार यादव विरुद्ध विगतमा पनि ७ वटा फरक प्रकृतिका कसुरमा मुद्दा चलेका पाइएका छन् ।
पूर्वाधार विकास कार्यालयबाट कमिशनको लागि सुरक्षा खटाइएको सम्बन्धमा असार १९ गते राति अध्यक्ष यादवले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई मोवाइलमा फोन गरेर थर्काउने तथा तिमी लुटेरा भनेपछि प्रतिउत्तरमा निष्किएका आवेगपूर्ण शब्दलाई थाम्न नसकी अनर्गल रुपमा गालीगलौंज गरेका यादव विरुद्ध हिजो शुक्रवार अपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी जारी भएका थिए ।
पूर्व प्रदेश सभा सदस्य समेत रहेका यादव हाल अशोक राई नेतृत्वको जसपाको प्रदेश अध्यक्ष विरुद्ध विगतका दिनमा ५ पटक अभद्र व्यवहार, ज्यान मार्ने उद्योग सहित चोरी कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाद्वारा सार्वजनिक गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।
जथाभावी रुपमा विकासे अडामा गएर थर्काउने पुरानो बानीबाट ओतप्रोत भएका यादवको हर्कतबाट पूर्वाधार विकास कार्यालय मलंगवाका कर्मचारीहरु काम गर्ने अवस्था नरहदा स्थानीय प्रशासनबाट सुरक्षाको माग गरेपछि प्रहरीले सुरक्षा दिदै आएको थियो । सोही क्रममा यादव विहिवार राति पूर्वाधार विकास कार्यालय मलंगवामा ताला फुटाएर भित्र प्रवेश गर्न खोज्दा प्रहरी टोली आउन थालेपछि त्यहाँबाट उनी फरार भई सोझै एसपी खड्कालाई फोन मार्फत थर्काउने शैलीमा कुरा गर्दा मुख्य विवाद सुरु भयो ।
संवादकै क्रममा धर्यतापूर्वक कुरा गर्नुपर्नेमा दुबै पक्षबाट कमीकमजोरी भएपनि नेता यादव अलि बढि उग्र भएर तथानाम गालीगलौज एसपीलाई गरेको थियो । सोही राति डिएसपी सरोज राईको नेतृत्वमा यादवलाई समात्न कविलासी नगरपालिका–१० सलेमपुरमा जाँदा स्थानीयहरु विरोध प्रदर्शन गरे । प्रहरी जिपको सिसा तोडफोड गरेपछि प्रहरी पछि हट्न बाध्य भए ।
हिजो शुक्रवार देखि सर्लाहीको विभिन्न स्थानहरुमा व्यापक संख्यामा सुरक्षाकर्मीहरुलाई परिचालन गरी यादवलाई समात्ने प्रयास गरियो तर अहिले सम्म प्रहरीलाई सफलता हात लागेको छैनन् ।
जसपा नेता यादवको विवादास्पद छवी, विगतमा खेपेका मुद्दाहरु विवरण
राजनीतिक संरक्षणको आडमा पटकपटक उम्किँदै आएका यादवको पृष्ठभूमि भने निकै विवादित रहेका छन् ।
सर्लाहीका एसपी खड्कालाई ‘मधेशमा लुट्न आएको’ आरोप लगाउँदै अश्लिल गाली गरेका जसपा मधेश अध्यक्ष यादवविरुद्ध यसअघि दुई पटक प्रहरीलाई नै गालीगलौज गरेपछि अभद्र व्यवहारको मुद्दा चलाइएको थियो ।
२०७७ जेठ २७ मा सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जग्गाको विषयमा विवाद हुँदा उनले ज्यानै मार्ने किसिमले निर्घात कुटपिट गरेका थिए ।
चक्रघट्टा गाउँपालिका–७ का राज नारायण रायसँग सडकको जग्गाको विषयमा विवाद हुँदा यादवले उनलाई कुटपिट गरेका थिए । त्यसपछि रायले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।
२०७३ कात्तिक २९ मा पनि सर्लाहीकै साविकको सलेमपुर गाविस–७ मा डिउटीमा खटिएका प्रहरी टोलीलाई गालीगलौज गरेपछि उनीविरुद्ध अभद्र व्यवहारको कसुर मुद्दा चलाइएको थियो । यादवमाथि शंका लागेपछि प्रहरीले जाँच गर्न खोज्दा उनले गालीगलौज गर्दै हातपात गर्न खोजेका थिए ।
२०७३ साउन १३ मा सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित सिंचाइ विकास डिभिजन कार्यालयमा अनधिकृत रुपमा प्रवेश गरी यादवले कर्मचारीको मोबाइल नम्बर मागेर गालीगलौज गरेका थिए ।
सिंचाइ विकास डिभिजन कार्यालय, मलंगवाका प्रमुख मनोरंजन कुमार सिंहले आफूलाई यादवले मोबाइल नम्बर मागेर फोन गर्दै ‘लात, जुत्ताले हान्छु’ भन्दै धम्की दिएको भनेर जाहेरी दिएपछि प्रहरीले अभद्र व्यवहारको कसुर मुद्दा चलाएको थियो ।
२०७२ पुस ५ गते तत्कालीन संघीय समाजवादी फोरमका सर्लाही जिल्ला अध्यक्ष रहेका यादवले जिल्ला प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा प्रवेश गरी कम्प्युटर, मोनिटर र प्रिन्टर तोडफोड गरी क्षति पुर्याएका थिए । हुलहुज्जत गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएपछि प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो । यादवविरुद्ध २०७२ फागुन महिनामा मादक पदार्थ सेवन गरी डिउटीमा रहेका प्रहरीलाई गालीगलौज गरेको कसुरमा मुद्दा चलाइएको थियो ।
२०६६ असोज १० गते काठमाडौंबाट मलंगवातर्फ फर्कदै गरेका जिल्ला शिक्षा कार्यालयका लेखापाल शिवशंकर प्रसाद महतोलाई मोटरसाइकल रोकेर यादवले डेढ लाख नगद लुटपाट गरेको अभियोगमा चोरी मुद्दामा कारबाही गरिएको थियो । सो क्रममा यादवको समूहले लेखापाल यादवको मोटरसाइकलमा समेत तोडफोड गरेका थिए ।
यसैगरी २०५७ पुस ८ गते सर्लाहीकै मलंगवा नगरपालिका–१० मा जिल्ला कृषि विकास कार्यालयमा बसिरहेका नथुनी साहलाई यादवले गालीगलौज गरेको अभियोगमा जाहेरी परेपछि अभद्र व्यवहारकै कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख रहेको छ ।