सेयर कारोबार शुल्क ३३५ घट्यो

सेयर कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने कमिसन करिब ३३ प्रतिशत घटेको छ । आइतबारदेखि लागू हुने गरी धितोपत्र बोर्डले कमिसन घटाएको हो । अन्य राष्ट्रको तुलनामा नेपालमा सेयर कारोबार शुल्क महँगो भएको भन्दै लगानीकर्ताले घटाउन माग गर्दै आएका थिए । लगानीकर्ताको माग सम्बोधन गर्न भन्दै अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए ।

नयाँ व्यवस्थाअनुसार सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले कारोबार रकमको ०.२७ देखि ०.४ प्रतिशत रकम ब्रोकरलाई शुल्क तिर्नुपर्छ । यसअघि ०.४ देखि ०.६ प्रतिशतसम्म शुल्क लाग्ने व्यवस्था थियो । पछिल्लो समयमा सेयर बजारमा ८५ प्रतिशतभन्दा बढी कारोबार अनलाइनमार्फत हुने गरेको, दैनिक कारोबार परिमाणमा बढोत्तरी हुँदै गएकोलगायत कारण धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाइएको बोर्डले बताएको छ ।

‘धितोपत्र कारोबार प्रणाली तथा सेवामा हुँदै गएको सुधार र बजारमा प्रणालीगत सुधार तथा बजार विस्तारसँगै कारोबार लागतलाई प्रतिस्पर्धी बनाउने अन्तर्राष्ट्रिय अभ्यास तथा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता समेतका आधारमा धितोपत्र दलाल व्यवसायी शुल्कमा पुनरावलोकन गरी समसामयिक बनाउन आवश्यक देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ । अब संगठित संस्थाको सेयर कारोबारमा ब्रोकरले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० र एक करोड रुपैयाँभन्दा माथिका सबै कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ । सरकार वा सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिदबिक्री कारोबारमा पनि शुल्क तोकिएको छ । यसअनुसार ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.१०, ५ लाखदेखि ५० लाखसम्म ०.०५ र ५० लाखभन्दा माथिका सबै कारोबारमा ०.०२ प्रतिशत शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

16 Push 077 final

सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलालीबापतको शुल्क पनि घटाइएको छ । यसअनुसार ५ लाखसम्मको कारोबारमा ०.१५, पाँच लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.१२ र ५० लाखभन्दा माथिको कारोबारमा ०.१० प्रतिशत शुल्क तोकिएको छ । तर धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क १० रुपैयाँभन्दा घटी हुने छैन ।

प्रत्येक आर्थिक वर्ष सकिएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा धितोपत्र दलालले प्राप्त गरेको कुल सेवा शुल्कको ०.६ प्रतिशत रकम नियमन शुल्कका रूपमा बोर्डलाई बुझाउनुपर्नेछ । धितोपत्र दलालले कारोबार सेवा प्रदान गरेबापत उल्लिखित सेवा शुल्कबाहेक अतिरिक्त रकम ग्राहकबाट लिन नपाउने व्यवस्था छ । धितोपत्र व्यापारीले धितोपत्र कारोबार दस्तुरबापत कारोबार रकमको ०.०२ प्रतिशत रकम धितोपत्र बजारमा बुझाउनुपर्नेछ ।