भन्सारछली नेपाल भित्र्याइएको मालसामान सहित ट्रकलाई पर्सा प्रहरीको नियन्त्रणमा

रबिन्द्र प्रजापति, चैत १७ गते रौतहट ।
भन्सारछली नेपाल भित्र्याइएको हार्डवेयर, लत्ताकपडा, कस्मेटिक मालसामान सहित एक ट्रकलाई पर्सा प्रहरीले बीरगंजबाट नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्र विनाको हार्डवेर, लताकपडा, कस्मेटिक लगायतका मालसामान बोकेर काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख ६०३ नम्बरको ट्रकलाई मालसामान सहित वीरगन्ज महानगरपालिका ८ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
नियन्त्रणमा लिइएको ट्रक तथा मालसामान समेत गरी करीब एक करोड २० लाख रुपैयाँ मुल्य बराबरको रहेको डिएसपी खनालले जानकारी दिए । ट्रक सहित भन्सारछलीको मालसामानलाई थप अनुसन्धानको लागी विहिबार राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।