बाराबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ

रबिन्द्र प्रजापति, बैशाख २४ गते रौतहट ।
बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत कसवा लौखानका विनोद यादवका २३ बर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंह रहेको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।
बारामा अवैध हतियार कारोबार भइरहेको सूचनाको आधारमा बाहिनीबाट सादा पोसाकमा गएको टोली र झरौखर सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
बिआर ०१ सि १३१६ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा शनिवार विहान १० बजेको समयमा सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको डिआईजी मगरले जनाएको छ ।
उनीहरूको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद गरेको डिआईजी मगरले बताए ।
मोटरसाइकल र हतियारसहित दुवैजना लाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

error: Content is protected !!