भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै

बौधिमाई न्यूज डेस्क, जेष्ठ २ गते रौतहट ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदै छन् । भारतीय सरकार प्रमुखको हैसियतमा उनी पाचौँपटक नेपाल आउन लागेका हुन् । तर यसपालि भने उनको भ्रमण जम्मा ६ घण्टाको हुनेछ ।
भगवान् गौतम बुद्धको जन्मयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहका लागि निमन्त्रणा गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान करिब ११ बजेतिर भारतीय वायु सेनाको विशेष हेलिकप्टरमार्फत मोदी लुम्बिनीमा अवतरण गर्नेछन् । त्यसपछि सीधै मायादेवीको मन्दिर दर्शनमा जाने कार्यक्रम रहेको छ ।
कार्यतालिका अनुसार मायादेवी मन्दिरमा प्रधानमन्त्री देउवा र मोदीले संयुक्त प्रार्थना गर्नेछन् । साथै लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।
ती सबै काम सकेर मोदी पवन इन्टरनेसनल होटल आराम गर्ने जनाइएको छ । सोही होटलमा परराष्ट्रमन्त्री डा। नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने तथा प्रधानमन्त्री देउवाले समेत विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने छन् । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना समेत गर्नेछन् ।
दुवै प्रधानमन्त्रीको भेटवार्ता लगत्तै दुई देशीय द्विपक्षीय उच्चस्तरीय कूटनीतिक अधिकारीहरुको बैठक पनि सोही होटलमा सुरु हुने जनाइएको छ । सो क्रममा विभिन्न ५ वटा सम्झौतामा हस्ताक्षर समेत गरिने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्रीद्वय मोदी र देउवाको उपस्थितिमा भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक९एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा गरी ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
यसरी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबार नै बेलुकी ५ बजे प्रधानमन्त्री मोदी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक बन्धनलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने आपेक्षा गरिएको छ ।

16 Push 077 final