सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै रौतहटका अधिकांश पालिका, पाँच करोड नाघ्यो बक्यौता रकम
बौधिमाई
रौतहट, भदौ १३ गते ।
रौतहटका अधिकांश पालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै आएका छन् । विद्युत् प्राधिकरणले ५ वर्षदेखि बक्यौता तिर्न लिखित र मौखिक ताकेता गर्दै आए पनि पालिकाहरूले अटेर गरेका हुन् ।
जिल्लाका चन्द्रपुर, गरुडा, गुजरा र वृन्दावन नगरपालिकाले पोल बत्तीको ५ करोड २६ लाख रकम तिर्न बाँकी रहेकोे विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले बक्यौता रकम तिर्न पालिकालाई पटकपटक ताकेता गर्दै आएको छ । सडक बत्ती प्रयोग गरेबापत सबैभन्दा बढी चन्द्रपुरले प्राधिकरणलाई १ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ ।
त्यस्तै, गुजराले १ करोड ६५ लाख ९१ हजार रुपैयाँ तिरेको छैन । वृन्दावन नगरपालिकाले १ करोड २२ लाख ३० हजार र गरुडा नगरपालिकाले ६७ लाख ३७ हजार रुपैयाँ बक्यौता केन्द्रलाई तिर्नुपर्नेछ । सडक बत्ती जडान गरेदेखि महसुल नबुझाउँदा बक्यौता रकम धेरै भएको हो । सभार टुडे पाटी