रौतहटको कटहरिया नगरपालिकामा आज नगर स्तरीय साइकल दौड प्रतियोगिता सम्पन्न
रबिन्द्र प्रजापति । भाद्र ३० गते, रौतहट ।
रौतहटको कटहरिया नगरपालिकामा आज नगर स्तरीय साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रास्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा कटहरिया नगरपालिका भित्रको सबै माध्यमिक विद्यालयहरुको बालिकाहरुले भाग लिएका थिए ।
कटहरिया नगरपालिकाको विर्ति देखी छेदीचोकसम्म झण्डै २ किलोमिटरको दौड प्रतियोगिता गराइएको थियो ।
कटहरिया नगरपालिकाकी नगर उपप्रमुख रिता देवी यादवले रिबन काटेर प्रतियोगिताको सुभारम्भ गरेकी थिइन ।
आरडिसी नेपालको आयोजनामा भएको प्रतियोगितामा जनता माध्यमिक विद्यालय कटहरियामा कक्षा ९ मा अध्ययनरत सुनैना कुमारी कुश्वाहा प्रथम भएकी छन भने मावि बलिरामपुरमा कक्षा ९मा अध्ययन गर्ने रविता कुमारी साह द्धितिय र जनता मावि कटहरियामा कक्षा १० मा अध्ययनरत छात्रा रनिता यादव त्रितिय भएकी छन ।
प्रतियोगितामा प्रथम हुने छात्रा सुनैना कुमारीलाई पुरस्कार स्वरुप साइकल प्रदान गरिएको छ भने दोश्रो स्थान प्राप्त गरेकी छात्रा रविता कुमारी लाई मिक्सर ग्रेण्डर र तेश्रो स्थान प्राप्त गरेकी छात्रा रनितालाई प्रेसर कुकर पुरस्कार दिइएको छ ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको प्रमुख आतिथ्य तथा उपमेयर रिता देवीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै मेयर जयसवालले यस्ता कार्यक्रमहरुले विद्यार्थी पढाईप्रति झन आकर्षित हुने बताएका छन् ।
आरडिसीले आयोजना गरेको यस्ता कार्यले विद्यालय बाहिर रहेका बालिकाहरु पनि विद्यालय आउन उत्साहित हुने भएकोले अगामि दिनहरुमा समेत बालबालिकालाई विद्यालयप्रति उत्साहित हुने किसिमका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा मेयर जयसवालले जोड दिए ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष भुपेन महतो कोइरी, वडा नं ३ का वडा अध्यक्ष श्यामाकान्त यादव, मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुश्वाहा लगाएत विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीयबासी सहितको सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन आरडिसी नेपालका फिल्ड सुपरभाइजर संजय यादवले गरेका थिए ।