बौधिमाई नगरपालिकामा विद्यार्थीद्वारा तोडफोड, प्रहरीद्धारा अश्रु ग्याँस प्रहार

रबिन्द्र प्रजापति, असोज ०९ गते रौतहट ।
शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन नमानेपिछ रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा विद्यार्थीद्वारा तोडफोड भएको छ । आइतबार स्थानीय शंकर माविका विद्यार्थीहरुले नगरपालिकामा तोडफोड गरेका हुन् ।
विद्यार्थीहरुको समूहले आफूहरुले बारम्बार शैक्षिक भ्रमणको लागि बजेट छुट्याउन माग गरेपनि नगर प्रमुख प्रदीप यादवले अटेर गरेको भन्दै विद्यार्थीहरुले आक्रोश भएर नगरपालिकामा राखिएको नगर प्रमुख यादव चढ्ने ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।
जथाभावी ढुंगा प्रहार गर्दा गाडीका सिसाहरु सबै फुटेका छन् भने विभिन्न भागहरु कुचिएको छ । विद्यार्थीहरुको आक्रमणबाट नगरपालिकाका झ्यालका सिसाहरु , नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइकललगायतका सवारी साधनहरु पनि तोडफोड भएको नगरपालिकाले जनाएको छ ।
प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि ९ राउन्ड अश्रु ग्याँस तथा ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए। उनका अनुसार विद्यार्थीको आक्रमणबाट बंकुल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुनिल कुमार यादव तथा सशस्त्र प्रहरीका ३ जना सुरक्षाकर्मी घाइते भएका छन् । त्यसैगरी केही विद्यार्थीहरु पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

error: Content is protected !!