लागुऔषध सेवन गरी आफनै साथिको हत्या गरेको आरोपमा दुई पक्राउ

धनुषा, १२ कार्तिक । धनुषामा लागु औषध सेवन गरेर आफनै साथीको हत्या गरेको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर २४ सोनापाडा बस्ने रुपेश महरा चमारलाई हत्या गरेको आरोपमा सोही वडा बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएका हुन् ।
दुई दिन अघि अर्थात कार्तिक १० गते इस्कन मन्दिर नजिकको धान खेतमा युवक महराको शव फेला परेका थिए । प्रहरीले अनुसन्धान गर्दै जाँदा महराको हत्यामा उनकै साथी सहनी र मण्डलको संलग्नता पाइएपछि दुबै जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
जटही स्थित नेपाल–भारत सीमाको भारतीय बजारबाट लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले बताए ।
घटनाको क्रममा मृतकले प्रयोग गरेको साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताए ।

error: Content is protected !!