रौतहटका दुई जनाको सर्लाहीमा दुर्घटना, प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै बाटोमा नै गयो ज्यान

रबिन्द्र प्रजापति फागुन १५ गते रौतहट । रौतहट घर भएका दुई जनाको सोमबार राती सर्लाहीमा ज्यान गएको छ । सर्लाहीको हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा नम्बर ३ मा भारतीय नम्बर प्लेटको एचआर ५९ ए ०१३१ नम्बरको जीप र भारतीय नम्बर प्लेटकै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारि दिनु भयो । मृत्यु हुनेमा रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ६ माधोपुर घर भएका २३ वर्षीय शियानन्दन महतो र त्यहीँ ठाउँ घर भएका अर्का १९ वर्षीय अजय महतोको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । दुर्घटनापछि प्रहरीले ठक्कर दिने जीपलाई नियन्त्रणमा लिएको छ । जीपका चालक फरार छन् । चालकको  खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

16 Push 077 final