शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आक्रोशित
रौतहट, ११ पुस । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आक्रोशित बन्दै गरुडा नगर कार्यपालिकाको कार्यालयलाई निशाना बनाए ।
हचुवाको भरमा गरुडा नगरपालिकाले शिक्षक शिवशंकर झाको सरुवा गरेपछि उच्च माध्यमिक विद्यालय गरुडाको विद्यार्थीहरु आक्रोशित भई नगर कार्यपालिकाको कार्यालय माथि ढुंगामुढा गरेर सरकारी सम्पत्तिलाई क्षति पुर्याएका हुन् ।
ढुंगामुढाको क्रममा नगरप्रहरी रामनारायण साहको टाउको फुटेका छन् भने नगरपालिकाको झ्यालको सिसाहरु फुटको छ भने कार्यालय अगाडी पार्किग गरिरहेका नगरप्रमुख कन्थमुनी जयसवाल चढ्ने ना.१ झ. १६७३ नम्वरको पिकअप गाडीको सिसालाई क्षति पुर्याइएको बुझिएका छन् ।
विद्यार्थीहरु अशान्त बनेपछि उक्त उमावीका प्रधानाध्यापक प्रभु पटेलले अवस्थालाई साम्य बनाएको श्रोतले बतायो । शिक्षक झालाई सोही पालिकाको महमदपुर मावीमा सरुवा गरेपछि विद्यार्थीहरु आक्रोशित बन्दा सरकारी सम्पत्तीमा क्षति पुगे । विधि प्रक्रिया पुर्याएर सुरुवा गर्नुपर्ने तर स्थानीय सरकार भएको हैसियतमा जस्तो सुकै निर्णय लिदा यस्ता घटनाहरु गरुडा नगरपालिकामा देखापर्न थालेका छन् ।
शिक्षक सरुवामा किन विवादित बन्दैछन् गरुडा नपा ?
यसैगरी गत मंसिर २ गते शिक्षक सरुवाको विषयलाई लिएर गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमुनी जयसवाललाई उनकै घर अगाडी गालीग्लौज गर्दै धक्कामुक्की गरिएका थिए ।
शिक्षक दरबन्दी मिलान गरेर विधि प्रक्रिया पुर्याएर मात्रै शिक्षकहरुलाई सरुवा गर्नुपर्ने भएपनि हचुवाको भरमा शिक्षकको सरुवा गर्दा गरुडा नगरपालिका पछिल्ला समयमा विवादित बन्दै गएको छ । शिक्षकहरु पनि स्थानीय बासिन्दा र विद्यार्थीहरुलाई उचालेर यस्ता घटनाहरु गराई रहेका छन् ।
मंसिर २ मा गरुडा बजारमा रहेका नगरप्रमुख जयसवालको घरमा आएर हो हल्ला गाली ग्लौज गर्नुका साथ नगरप्रमुख जयसवाल र उनका छोरा शैलेश जयसवाललाई धक्का मुक्की गरेर अभद्र व्यवहार समेत गरेका थिए ।
यसप्रकारको घटना दोहोरिदै जाँदा पनि सुधारको प्रक्रिया पालिकाले अपनाउन नसक्दा गरुडाको शिक्षा क्षेत्र पटक पटक विवादमा तानिदै गएको छ ।
नगरप्रमुख जयसवाल के भन्छन् ?
यस विषयमा गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी जयसवालले विधि प्रक्रिया पुर्याएर राजपत्रमा प्रकाशित भए अनुसारको चार महिना अघि नै सरुवा भएको स्थानमा अन्य शिक्षकहरु गईसकेको र उमावी गरुडाका प्रअ प्रभु पटेल र शिक्षक झा नगई विद्यार्थीहरुलाई उचालेर सरकारी सम्पत्तीमा धेरै क्षति पुर्याएको गम्भीर आरोप लगाए ।
कार्यालय भवन, सवारी साधन सहितका सरकारी सम्पत्तीमा पुर्याइएको हानी नोक्सानी एवं नगरप्रहरी रामनारायण साहलाई उपचारको लागि विरगंज पठाइएको हुँदा यसको छानविन गरेर दोषी दुबै जनालाई कारवाही एवं क्षतिपुर्ती असुलको लागि सम्बध निकायमा नगरपालिकाबाट पत्राचार गरिने नगरप्रमुख जयसवालले बताए ।