वीरगन्ज, १५ पुस ।
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं. १८ मा विशेष अपरेसनको क्रममा १६० किलो लागूऔषध गाजा बरामद गरी दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हेटौडा उपमहानगरपालिका वडा नं. ७ का ४४ वर्षीय कृष्ण घलान र चितवन झुरझुरे–३ का २० वर्षीय रोनाल विश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना ३ ख ४२१२ नम्बरको ट्रकलाई जाँच गर्दा, १० केजीको दरले प्याक गरिएका १६ पोकाबाट १६० किलो गाजा बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रणसम्बन्धी कानुनी कारबाहीका लागि अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।