आईजी बसन्तबहादुर कुवरद्वारा जिल्ला प्रहरी कार्यालय रौतहटको नव निर्मित भवनको समुदघाटन

बौद्धीमाई न्युज डेस्क रौतहट २६ फागुन ।

रौतहट सदरमुकाम गौरमा जिल्ला प्रहरी कार्यालयको अत्याधुनिक एवं प्रविधि मैत्री नवनिर्मित भवनलाई प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले समुदघाटन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट गौरको परिसरमा सोमवार आयोजित विशेष कार्यक्रमका बीच प्रहरी महानिरीक्षक कुँवरले अमर प्रहरी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नवनिर्मित पक्कि भवनको समुदघाटन गरेका हुन् ।

समुदघाटन पश्चात आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास र भौतिक पूर्वाधारको क्षेत्रमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीको क्षमता एवं दक्षतालाई अभिवृद्धि गरिने बताउदै बैज्ञानिक र प्राविधिक उपकरण प्राप्त गराई संगठनलाई बलियो बनाउनमा प्रहरी प्रधान कार्यालयबाट यथोचित रुपमा कार्यहरु भईरहेको स्पष्ट पारे ।

संगठनको स्थापना काल देखि अपराध अनुसन्धान, शान्ति सुरक्षाको व्यवस्थापन, मानवअधिकारको रक्षा, विपद व्यवस्थापन सहितका विभिन्न कार्यमा अग्रपंक्तिमा रहेर आम नागरिकलाई नेपाल प्रहरीले आफनो क्षमताले भ्याए सम्मको सेवा सुविधा प्रदान गर्दै आइरहेको चर्चा गर्दै आउने समयमा पनि नेपाल प्रहरी आम नेपाली नागरिकहरुको इच्छा अनुसार खरो उत्रिने हरसम्भव प्रयासरत रहेको प्रहरी महानिरीक्षक कुँवरले भने ।

उक्त कार्यक्रममा संविधान सभा सदस्य अशोक जयसवाल, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्य, नेपाली सेनाको २८ नम्वर बाहिनीका प्रमुख रंजित थापा, जिल्ला न्यायाधिश मनोज केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष संजयकुमार कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र सहित विशेष समारोहमा उपस्थित सम्पूर्ण महानुभावलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले स्वागत एवं अभिनन्दन गरेका थिए ।

महानिरीक्षक कुँवरले समय समय हुने गरेका धार्मिक, साँस्कृतिक एवं सामाजिक मतभिन्नता, जघन्य प्रवृतिको घटना, माहिला बालबालिका विरुद्धको कसुर, सवारी दुर्घटना, लागुऔषध अपराध, सिमा क्षेत्रबाट हुने चुहावट लगायतका चुनौतीपूर्ण अवस्थालाई यहाँका प्रहरीले हरसम्भव प्रयास गरेर समाधान गर्नमा स्थानीयको महत्वपूर्ण योग्यदान रहेकोमा धन्यवाद दिए ।

सो कार्यक्रममा भवन निर्माण देखि लिएर विभिन्न क्षेत्रमा योग्दान पुर्याएका व्यक्तिहरुलाई सम्मानित गर्नुका साथै मधेश प्रदेशको रौतहटमा प्रहरी महानिरीक्षक आएकोमा डिआजी आचार्यले आईजी कुँवरलाई मिथिला पेन्टिंग भएको मायाको चिनो प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दिलिप घिमिरेले जानकारी दिए ।

दुई चरणमा निर्माण भएका जिल्ला प्रहरी कार्यालय रौतहटको अत्याधुनिक भवन निर्माण गर्नमा पहिलो चरणमा तुल्सिभक्त कन्ष्ट्रक्शन बालकुमारी ललितपुर र दोश्रो चरणका प्रदेज सुरेन्द्र जेभी बालकोट भक्तपुरले १७ करोड ६४ लाख २७ हजार ६२८ रुपैयामा निर्माण कार्य सम्पन्न गरेको प्राविधिक इन्जिनियर एसपी इश्वर थापाले जानकारी दिए ।