करदाता सेवा कार्यालय खारेजीको निर्णय विरुद्ध , उद्योगी व्यवसायीहरु धर्ना प्रदर्शन कार्यक्रम जारी

रौतहट, १४ पुस । करदाता सेवा कार्यालय खारेजीको निर्णय विरुद्ध रौतहटको उद्योगी व्यवसायीहरुको सोमवार दोश्रो दिनपनि धर्ना प्रदर्शन कार्यक्रम जारी राखेका छन् ।
गौरमा रहेका करदाता सेवा कार्यालयलार्य बाराको सिमरामा स्थानान्तरण गर्ने नेपाल सरकारको निर्णय विरुद्ध उद्योगी व्यवसायीहरु संग नागरिक समाज, राजनीतिक दल, निर्माण व्यवसायी संघ सहितका सर्वदलिय एवं सर्वपक्षिय धर्ना प्रदर्शन जारी रहेका हुन् ।
पूर्व प्रदेश सभा सदस्य बाबुलाल साहको अध्यक्षतामा दोश्रो दिन जारी धर्नामा प्रदर्शनमा नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरी, नेपाली कम्युनिष्ट पार्टीका नेता रेबन्त झा, लोसपाका अनिलकुमार सिंह, निर्माण व्यवसायी संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल (पालु) सहित उद्योग व्यवसायीहरुको उपस्थितिमा करदाता सेवा कार्यालयको मुख्य गेटमा धर्ना जारी रहेको संघका महासचिव सन्तोष केसरीले जानकारी दिए ।
अहिलेको युगमा स्थापित भएका कार्यालयलाई उठाएर ११३ किलोमिटर टाढा सिमरामा गाभ्ने राज्यको कुदृष्टिका विरुद्ध हामी आ आफनो कारोवार छाडेर बाटोमा बस्न बाध्य भएको महासचिव केसरीले गुनासो गरे ।
राज्यद्वारा व्यापारीहरूलाई सहुलियत दिनुपर्नेमा उल्टै झन्झटिलो बनाउन खोजेको भन्दै बाध्य भएर संघर्षको बाटो रोज्नु परेको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरेर यथास्थितिमा कार्यालय राखिराख्न माग गरे ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीले राज्यबाट कर तिर्ने नागरिकलाई सहुलियत दिनुपर्नेमा अप्ठ्यारो अवस्था सृजना गर्न खोजेकोमा आक्रोश पोख्दै भोली देखि यहाँका सम्पूर्ण व्यापारिक प्रतिष्ठान बन्द गरेर कडा संघर्षमा उत्रन सरकार बाध्य बनाइरहेको चेतावनी दिए । यदी सरकार मानेनन भने यहाँबाट किन कर चाहियो, भन्सार कार्यालय पनि उठाएर सिमरा वा अन्य स्थानमा लग्न चेतावनी समेत उनले दिए ।