
लमहा जंगलमा एलपी ग्यासको बुलेट पल्टिदा पूर्व पश्चिम राजमार्ग अबरुद्ध, बैकल्पिक मार्ग अपनाउन प्रहरीको अनुरोध
रौतहट, १५ पुस । रौतहट स्थित पूर्व–पश्चिम राजमार्गमा एलपी ग्यास बोकेका बुलेट पल्टिदा मंगलवार विहान देखि राजमार्ग अवरुद्ध बनेका छन् ।
चन्द्रपुर नगरपालिका–४ स्थित लमाहा स्थित वन क्षेत्रमा युपी १७ ए टी २११४ नम्बरको ग्यास बोकेको बुलेट आज विहान साढे ७ बजेको समयमा अचानक पल्टिएर राजमार्ग अवरुद्ध बनेका हुन् ।
भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको अवस्थामा उक्त बुलेट पल्टिन पुगेको छ । दुर्घटनामा बुलेका चालक भारतको कदोरा, जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जानकारी दिदै डिएसपी रुपा लाबुंङले पल्टिएका बुलेटबाट ग्यासको रिसाव भईरहेको हुँदा सम्भावित जोखिमलाई मध्यनजर राख्दै राजमार्गमा सवारी साधनको आवागमनमा रोक लगाएको बताइन् ।
प्राविधिक टोलीहरु आएर चेकजाँच गरिरहेको हुँदा ग्यासको लिक बन्द भएपछि मात्रै उठाउने कार्य हुने तथा पल्टिएका बुलेटलाई उठाउन क्रेनहरु समेत आईसकेको भएपनि पहिला ग्यास लिक बन्द गर्ने तर्फ प्राविधिक टोली लागिपरेको उनले भनिन ।
विहान देखि अबरुद्ध बनेका सावारी साधनलाई बैकल्पिक मार्ग अपनाएर गईरहेको तथा कतिपय हुलाकी राजमार्गको प्रयोग गरेर जान थालेको उनले जानकारी दिदै राजमार्ग कतिखेर खुल्छ भन्न निकै गाह्रो रहेको हुँदा सवारी सधान चालकहरु बैकल्पिक बाटो भएर जान उनले आग्रह गरिन् ।
ग्यास बुलेट पल्टिएको सन्दर्भमा डिएसपी लाबुङले चालक संग गरिएको सोधपुछका आधारमा बाटो नदेखिदा अनियन्त्रित भएर पल्टिएको बताएपनि प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको स्पष्ट पारिन ।