मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव पुस ४ गते विश्वासको मत लिने

रौतहट, ४ पुस । मधेश प्रदेशका मुख्यमन्त्री माननीय कृष्णप्रसाद यादवले यही पुस ४ गते शुक्रबार दिउँसो ४ बजे प्रदेशसभामा विश्वासको मत लिने छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई आग्रह गरिसकेको हो ।
नेपाली कांग्रेसका नेता यादव गत मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मंसिर २१ गते शपथग्रहण गरेका उनले संविधान अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
यसअघि सर्वोच्च अदालतको फैसलापछि पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्दा कांग्रेस नेतृत्वको सात दलीय गठबन्धनले बहुमतको आधारमा कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाएको थियो । मधेश प्रदेशसभामा कुल १०४ सांसद छन् र गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ ।