
“म कसैको सोर्समा रौतहटमा आएको हैन, पिडितलाई अन्याय हुन दिन्न” एसपी गिरीको प्रतिबद्धता
रौतहट, २९ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटको एसपीको रुपमा आगमन भएका नेत्रमणि गिरीले आफू कुनै राजनीतिक या अन्य प्रभावको कारणले रौतहट आएको होइन, संगठनको भावना अनुसार काम गरी शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउने मुल लक्ष्य रहेको बताए ।
कसैको आशिर्वादमा नभई नियमित प्रशासनिक प्रक्रिया मार्फत आएको स्पष्ट पार्दै रौतहट जिल्लाबासीको समग्र हितमा नेपाल प्रहरी सधै समर्पित रहेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै “म कसैको सोर्समा आएको हैन, यदि रौतहट आएको हुने भएन भने म महोत्तरी वा सर्लाही जान्थेँ ।” उनले भने ।
पत्रकारहरूको जिज्ञासामा जवाफ दिंदै एसपी गिरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताए । उनले भने, “पिडितलाई अन्याय हुन दिन्नौं, कसैलाई दुख दिने मेरो उदेश्य छैन, निर्दोषलाई दुःख दिने काम प्रहरीबाट नहुने स्पष्ट पारे ।”
उनले जिल्लामा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखिने जनाउँदै भने, “तस्करी नियन्त्रण गर्नु हाम्रो कर्तव्य हो, यो सशस्त्र प्रहरीको पनि जिम्मेवारी हो, तर यदि कसैले तस्करीजन्य काम गरेका छन् भने हामी टुलु टुलु हेरेर बस्दैनौँ कारबाही गर्छौँ ।”
बिचौलियाको पहिचान र कारबाहीमा जोड
एसपी गिरीले बिचौलीया परमपरालाई अन्त्य गर्न पत्रकार, स्थानीय तह र सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने, “बिचौलीयालाई पहिचान गरी जानकारी दिनुस हामी कारबाही गर्छौँ ।”
कार्ड भएको बिहेको समानमा अवरोध छैन
प्रवेश नियन्त्रणको सन्दर्भमा कुरा गर्दै उनले जनाए, “कार्ड लिएर आएको बिहेको समानमा कसैलाई रोकेको छैन । हामी केवल तस्करी वा गैरकानुनी गतिविधिमा संलग्नहरूमाथि निगरानी गर्छौँ ।”
शान्ति सुरक्षामा प्राथमिकता
उनले जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रहरी पुर्णरूपमा सक्रिय रहने बताए । “हाम्रो मुख्य काम नै शान्ति सुरक्षा गर्ने हो । यसतर्फ नै हाम्रो बढि फोकस हुन्छ,” एसपी गिरीले भने ।
सिसिटिभी क्यामराहरू मर्मतको प्रक्रियामा
कार्यक्रममा सहभागी प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपक कुमार रायले गौर नगरपालिकामा सिसिटिभी क्यामराहरू सञ्चालनमा नआएको जानकारी गराए । “हाल बीपी चोकको सिसिटिभी मात्र चलिरहेको छ,” उनले भने, “बाँकी मर्मतका लागि गौर नगरपालिका समक्ष अनुरोध गरिएको छ ।”
पत्रकारहरूसँग प्रत्यक्ष सम्वादको अपेक्षा
एसपी गिरीले सबै सञ्चारकर्मीहरूलाई प्रत्यक्ष भेट्ने र समन्वयमा काम गर्न आग्रह गरेका छन् । उनले भने, “सिधा सम्पर्क राखौं, प्रेस कन्फ्रेन्सपछि मात्रै जानकारी दिनु भन्ने सोच राम्रो हैन । पारदर्शिताको वातावरण बनाउनु जरुरी छ ।”