बहुदरमाईका निमित्त हाकिम अजय श्रीवास्तव अख्त्रियारद्वारा पक्राउ

०६ गते । रौतहट । 

पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार बिहान पक्राउ गरेको छ ।

काठमाडौँको टंगालस्थित आयोगको टोलीले उनलाई भ्रष्टाचारको आरोपमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पनि श्रीवास्तवको पक्राउ भएको पुष्टि गरेका छन् । यात्रा डेलीसँगको टेलिफोन संवादमा एसपी मिश्रले श्रीवास्तवलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

आयोगका अनुसार, श्रीवास्तवले पर्साको पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाको स्वीकृति, खरिद आदेश र ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी रूपमा घुस लिएको आरोप लागेको छ ।

अनुसन्धानका क्रममा उनले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला परेको आयोगले जनाएको छ ।

आयोगले श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै यस्ता गतिविधिमा संलग्न जोकोहीलाई कडाइका साथ कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।

घटनाले स्थानीय प्रशासनमा पारदर्शिता र जबाफदेहिताको मुद्दालाई फेरि एक पटक चर्चामा ल्याएको छ ।