राजदेवी र माधवनारायण नगरपालिकाको नगरसभा सम्पन्न

रबिन्द्र प्रजापति, असाढ ०६ गते । रौतहट ।  
रौतहटको राजदेवी र माधवनारायण नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । राजदेवी र माधवनारायण नगरपालिकाले आज शुक्रवार आफ्नो नगर सभा सम्पन्न गरेको छ ।

अगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि राजदेवी नगरपालिकाले ५६ करोड ८५ लाख २१ हजार २ सय १२ रुपैयाँको बजेट प्रस्तुत गरेको छ भन्ने माधवनारायण नगरपालिकले पनि ५३ करोड ३५ लाख भन्दा बढी बजेट सार्वजनिक गरेका हुन् ।

राजदेवी नगरपालिकाको सभाहलमा सम्पन्न नगरपालिकाको नगर सभाको १४औं अधिवेशनबाट आन्तरिक स्रोत, स्थानिय सरकार राजश्व बाँडफाँड, प्रदेश सरकार, सङ्घीय सरकारबाट अनुदान गरी ५६ करोड ८५ लाख २१ हजार २ सय १२ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

सभामा सम्बोधन गर्दै नगर प्रमुख भिखारी प्रसाद यादबले आन्तिरिक आयको बृद्धि गर्दै मानविय तथा भौतिक विकासको पक्षमा ध्यान दिइ आर्थिक विकासको अधार तय गर्ने तर्फ केन्द्रित रहने बताउनु भयो । आमजनतालाई विकासका लाभ उपयोग गर्न सक्षम बनाउदैँ जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको मेयर यादबको भनाइ रहेको थियो ।

त्यस्तै माधवनारायण नगरपालिकाले १० औं नगरसभा द्वारा नगरको समग्र विकासका लागि ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँ बजेट नगरप्रमुख बैजनाथ प्रसाद यादवले प्रस्तुत गरेका हुन ।

नगरसभामा माधवनारायण नगर प्रमुख यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षमा नगरको समग्र विकासका लागि अनुमानित ५३ करोड भन्दा बढी आय व्यय सहितको बजेट प्रस्तुत गरेको नगर प्रमुख यादवले बताए ।

राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।

नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै माधव नारायणको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताइएको छ ।

सम्पन्न नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सबै नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, प्रहरी लगाउतको सहभागितामा भव्य रुपमा नगर अधिवेशन सम्पन्न भएको बताए ।