रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको मृत्यु

रबिन्द्र प्रजापति, असार ११ गते । रौतहट । 
रौतहटमा सेफ्टी ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका–१० निबुवा टोल बस्ने गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदिश साहकी दुई वर्षीया छोरी खुश्बु साहको ट्याङ्कीमा खसेर ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बालबालिका खेल्ने क्रममा हिजो बेलुका पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टी ट्याङ्कीमा खसेका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनीहरुलाई उद्धार गरी उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।