
उम्मेदवारमाथि कडा निगरानीः परिवारको बैंक खाता माथि आयोगको निगरानी
रौतहट, १५ फागुन । प्रतिनिधिसभा निर्वाचनको खर्च पारदर्शी बनाउन निर्वाचन आयोगले उम्मेदवारको घरपरिवार सहितका सदस्यहरूको बैंक खातालाई निगरानीमा राख्न सुरु गरेको छ ।
बैंकिङ प्रणाली बाहिर खर्च भइरहेको आशंका उत्पन्न भएपछि आयोगले अनुगमनको दायरालाई विस्तार गरेर सुक्ष्म निगरानी राख्न सुरु गरेको हो ।
आयोगले चुनावी खर्च अनिवार्य रूपमा बैंक खाता मार्फत गर्नुपर्ने व्यवस्था आचारसंहितामै उल्लेख गरेको छ । राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक बैंक खाता खोली सबै खर्च बैंकिङ माध्यमबाट गर्न निर्देशन दिइए पनि धेरै उम्मेदवारले नगद कारोबार मार्फत खर्च गरेको गुनासो आएपछि आयोग कडा रूपमा अघि बढेको छ ।
निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खाता मार्फत खर्च नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघनको आधारमा प्रचलित कानुन अनुसार कारबाही गरिने स्पष्ट गरे ।
उम्मेदवारहरूको चुनावी खर्चको अनुगमन जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत भइरहेको आयोगले जनाए । प्रचारप्रसार अवधिमा हुने आर्थिक चलखेललाई नियन्त्रण गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यो कदम चालिएको आयुक्त जबराको भनाइ छ ।
आयोगले सबै उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै पारदर्शी खर्च विवरण समयमै पेश गर्नसमेत सचेत गराएको छ ।
यसैगरी जिल्ला निर्वाचन कार्यालय रौतहटको प्रमुख छोटेलाल दासका अनुसार जिल्लाका चारवटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएका मध्ये ६० जनाले बैंकमा खाता खोल्नका लागि सिफारिस लिएर गएको छ ।