
फागुन १८ गते मध्य राति देखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि ‘सिल’ हुने
रौतहट, १५ फागुन । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहटको भारतसँग जोडिएका सम्पूर्ण सीमानाका ७२ घण्टा अगावै बन्द (सिल) गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचना अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सीमापारबाट हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सोही अनुसार भारतसँग जोडिएका सबै नाका यही फागुन १८ गते मध्यराति १२ बजेदेखि पूर्ण रूपमा सिल गरिने जनाइएको छ । निर्वाचन सम्पन्न भएकै मध्यराति १२ बजेदेखि पुनः नाकाहरू सुचारु गरिने प्रशासनले स्पष्ट पारेको छ ।
यसैबीच, निर्वाचनको मर्यादा कायम राख्न आजदेखि मतगणना अवधि सम्पन्न नभएसम्म जिल्लाभर मदिरा तथा मदिराजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण रोक लगाइएको छ । निर्णय उल्लंघन गर्ने जो–कोहीमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि प्रशासनले दिए ।
सीमाक्षेत्र संवेदनशील मानिने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएर नियमित रुपमा सीमा क्षेत्रमा गस्तीलाई बढावा दिइएको छ ।