
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा, प्रधानमन्त्री मोदी–जयशंकर सँग उच्चस्तरीय भेट हुने
रौतहट, १० जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी जुन १ र २ तारिखमा भारत भ्रमणमा जान लागेका हुन् ।
स्रोतका अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर तथा विदेश सचिव विक्रम मिश्र लगायत संग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले भारत सरकारका अन्य मन्त्रीहरू सँग पनि भेट गर्ने तयारी रहेको बताइएको छ ।
यसअघि भारतले सत्तारुढ दलका सभापतिको हैसियतमा शेरबहादुर देउवालाई समेत निमन्त्रणा दिएको थियो । पछिल्लो समय नेपाल–भारत सम्बन्ध र क्षेत्रीय कूटनीतिक गतिविधिका बीच हुन लागेको यो भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि हुन लागेको यो भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले भारतीय जनता पार्टी (भाजपा) मुख्यालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको स्रोतले जनाए ।