भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षालाई लिएर सीतामढीमा इन्डो–नेपाल बोर्डर उच्चस्तरीय बैठक

फोटो क्याप्सनः सीतामढीको समाहरणालय स्थित विमर्श सभाकक्षमा इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समितिको उच्चस्तरीय बैठक

सीतामढी, ९ जेठ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमा पार हुने आपराधिक गतिविधिमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यबाट दुबै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरु बीचको बैठक सीतामढीमा सम्पन्न भएका छन् ।
विहार सीतामढीको समाहरणालय स्थित विमर्श सभाकक्षमा इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समितिको उच्चस्तरीय बैठक सम्पन्न भएका हुन् ।
बैठकमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वय मजबुत गर्ने विषयमा विस्तृत छलफल गरियो ।
जाली नोट कारोबार, अवैध हतियार तस्करी, लागूऔषध ओसारपसार, मदिरा, सुर्तीजन्य पदार्थ तथा अन्य प्रतिबन्धित सामग्रीको सीमा पार तस्करी नियन्त्रणका लागि संयुक्त रणनीति अपनाउने विषयमा विशेष जोड दिइयो ।
दुवै देशका अधिकारीहरूले सीमा अपराध नियन्त्रणका लागि सम्भावित कारबाही, मोस्ट वान्टेड अपराधीहरूको पक्राउ, शंकास्पद व्यक्ति तथा विदेशी नागरिकहरूको अवैध आवतजावत रोक्ने, सूचना आदान–प्रदानलाई तीव्र बनाउने तथा संयुक्त सुरक्षा अभियानलाई थप प्रभावकारी बनाउने सहमति भएको जनाए ।
बैठकमा मानव बेचबिखन, लागूऔषध तस्करी, सीमा क्षेत्रमा अतिक्रमण, बोर्डर पिलर सुरक्षा तथा नो म्यान्स ल्याण्ड अतिक्रमण जस्ता विषयमा समेत गम्भीर छलफल भएको थियो । सीमावर्ती क्षेत्रमा सक्रिय असामाजिक तत्व तथा आपराधिक समूहविरुद्ध निरन्तर संयुक्त अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
सीमावर्ती प्रहरी चौकी तथा सुरक्षा निकायलाई पूर्ण सतर्कता अपनाउन तथा सानोतिनो घटनालाई समेत गम्भीरतापूर्वक लिएर तत्काल कारबाही गर्न निर्देशन दिइएको छ । साथै सीमा क्षेत्रमा आपसी सहयोग, विश्वास र समन्वयलाई अझ मजबुत बनाउँदै शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम राख्न विशेष जोड दिइयो ।
सीतामढीका प्रभारी डीएम संजीव कुमारको अध्यक्षतामा सम्पन्न बैठकमा रौतहटका प्रजिअ दिनेस सागर भुसाल, एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका कुमार बुढाथोकी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षा अधिकारी, सर्लाहीका प्रजिअ रामुराज कादरिया सहित सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।
यस्तै बैठकमा सीतामढीका एसपी अमित रञ्जन, डीडीसी सन्दीप कुमार सहित विपद् व्यवस्थापन अपर समाहर्ता बृजकिशोर पाण्डेय, मनीष कुमार दास, संजीव कुमार सिंह, ५१ औँ बटालियन एसएसबीका कमाण्डेन्ट तथा २० औँ बटालियन एसएसबीका डिप्टी कमाण्डेन्ट बिरजू रजक सहित दुवै देशका अन्य वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।