
बारा, ४ जेठ । बाराको सदरमुकाम कलैयामा किन्नर तथा तेस्रो लिङ्गी समूहबीच भएको आपसी विवादपछि स्थिति तनावग्रस्त बनेको छ ।
विवाद बढ्दै गएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले आफ्ना साथीलाई नियन्त्रणमा लिएको विरोधमा आक्रोशित बनेका तेस्रो लिङ्गी समूहले जिल्ला प्रहरी कार्यालय बारा कलैयाको मुख्य गेट अगाडि उग्र एवं अर्धनग्न प्रदर्शन गरे ।
प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै पक्राउ परेका व्यक्तिलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेका थिए । प्रदर्शनकारीले विरोध जनाउने क्रममा सडकमै कपडा खोलेर प्रदर्शन गरेपछि केहीबेर प्रहरी कार्यालय आसपासको क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।
स्थिति थप बिग्रिन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाए । प्रदर्शनका कारण केही समय सडक क्षेत्रमा आवतजावत समेत प्रभावित बनेको स्थानीयले बताए ।
घटनाको मुख्य कारण तथा दुई समूहबीच भएको विवादबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए । हाल अवस्था नियन्त्रणमा रहेको र जिल्लाको सुरक्षा निगरानी बढाइएको छ ।