
हुलाकी सडकमा मोटरसाइकल दुर्घटनाः उपचारको क्रममा चालकको मृत्यु, दुई बालक घाइते
रौतहट, ४ जेठ । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकस्थित हुलाकी सडकखण्डमा आइतबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएका छन् ।
कोपवाबाट फतुवा तर्फ जाँदै गरेको मधेश प्रदेश ०५–००१–प–०१८८ नम्बरको मोटरसाइकल आज दिउसो १ बजेको समयमा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना बालक सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक बाराको बारागढी गाउँपालिका–३ मुर्कीपालिया गाउँका २२ वर्षीय मुकेश मुखियाको अनुहार र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । तत्कालै गम्भीर घाइते मुखियालाई उपचारका लागि वीरगञ्ज स्थित मेट्रो सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा अपराह्न ३ बजे चिकित्सकले मृत घोषित गरेको रौतहट प्रहरी प्रमुख सीताराम रिजालले बताए ।
उक्त मोटरसाइकल पछाडि सवार रौतहट राजपुर नगरपालिका–२ निवासी रामजी मुखियाका १० वर्षीय छोरा शिवजी मुखिया र ८ वर्षीय छोरा सुजित मुखिया घाइते भएको छ । घाइते दुवै बालकको शरीरका विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको उनले भने । घाइते दुबै बालकको वीरगञ्जस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको तथा मृतक मुखियाको शव उक्त अस्पतालमा राखिएको बताइएको छ ।