
रौतहट प्रहरीको एकमहिने प्रगतिः ४६ लाखको तस्करी का सामान बरामद, ५७ जना फरार प्रतिबादी पक्राउ
संजयकुमार मिश्रा
रौतहट, ४ जेठ । रौतहट प्रहरीले पछिल्लो एक महिनामा अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट जारी भएको तथ्याँक अनुसार बैशाख महिनाभरी सञ्चालन गरेको विशेष अभियानका क्रममा लाखौं बराबरको अवैध कारोबार नियन्त्रणमा लिनुका साथै दर्जनौं फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा बैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत भन्सार छलि अवैध रूपमा भित्रर्याइएका सामान बरामद गरी ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजश्व संकलन गरिएको छ ।
सदरमुकाम गौर सहित विभिन्न नाकाबाट तस्करी गरी ल्याइएका सामान नियन्त्रणमा लिनुका साथै तस्करीमा प्रयोग भएका १३ वटा सवारी साधन समेत बरामद गरिएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरी थप कारबाही अघि बढाइएको प्रहरीले जनाए ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी माथि गरिएको कारबाहीबाट मात्रै ११ लाख २२ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको ट्राफिक इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताए । बैशाख महिनामा जिल्लाभर ९९ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको तथा ४ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
प्रहरीले उपलब्ध गराएको सूचना अनुसार बैशाख महिनामा ज्यान सम्बन्धी ५, आत्महत्या ६, चोरी ७, संगठित तथा आर्थिक अपराध १९, सामाजिक अपराध ४१ तथा महिला तथा बालबालिका सम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी कर्तव्य ज्यान, हातहतियार, मानव बेचबिखन, बैंकिङ कसुर तथा ठगी जस्ता जघन्य प्रकृतिका मुद्दामा समेत अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाए । बैंकिङ कसुरमा ९ तथा ठगीका ९ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
घरेलु हिंसा सम्बन्धी दर्ता भएका ३७ उजुरी मध्ये २८ वटा फछ्र्योट गरिएको प्रहरीले जनाएको छ । त्यस्तै १२७ ठाडो उजुरी मध्ये ७७ वटा तथा जिल्ला प्रशासन कार्यालय मार्फत आएका १२५ उजुरी मध्ये ७५ वटा समाधान गरिएको छ ।
अनुचित लेनदेन सम्बन्धी ३ वटा मुद्दा फछ्र्योट गर्दै पीडितलाई ६ लाख ५५ हजार रुपैयाँ फिर्ता गराइएको प्रहरीले जनाए ।
लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ६ वटा मुद्दा दर्ता गरी ५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ३२ किलो भन्दा बढी गाँजा, ३०९ थान नशालु इन्जेक्सन तथा ५ हजार ३९३ ट्रामाडोल क्याप्सुल बरामद गरेको प्रहरी श्रोतले बतायो ।
बैशाख २५ गते देखि सुरु गरिएको ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी अभियान’ अन्तर्गत २४ जनाको परीक्षण गरिएको थियो । जसमध्ये ७ जनालाई परिवारको जिम्मा लगाइएको तथा १५७ जनासँग सोधपुछ गरिएको प्रहरीको दाबी छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बैशाख महिनामा मात्रै ५७ जना पक्राउ परेका छन् । पक्राउ परेका माथि अदालतबाट तोकिएको १७ वर्ष २८ दिन कैद तथा ३२ लाख रुपैयाँ भन्दा बढी जरिवाना असुल गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाभर शान्ति सुरक्षा कायम गर्न प्रहरीले ५५८ मोबाइल गस्ती, ५१० पैदल गस्ती, १ हजार २० ग्रामीण गस्ती, ३१० चेकिङ तथा ४६५ पिकेट परिचालन गरेको रौतहट प्रहरी प्रमुख रिजालले बताए ।
यसैगरी १४ एलआरपी र ३ हजार २२४ एसआरपी टोली परिचालन गरिएको थियो भने मेला, सभा तथा सार्वजनिक कार्यक्रममा १९६ प्रहरी जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ४१ वटा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएकोमा १ हजार ६४४ जना सहभागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।