शिक्षक यादव माथि दुव्र्यवहार गर्ने नगर प्रमुख माथि कारवाही गर्न शंकर मावीद्वारा विज्ञप्ती जारी

रौतहट, ४ जेठ । रौतहटको बौधीमाई नगरपालिका–८ स्थित श्री शंकर माध्यमिक विद्यालय सरमुजवाले विद्यालयका एक शिक्षक माथि नगर प्रमुखबाट दुव्र्यवहार तथा हातपात भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
विद्यालयको लेटरप्याडमा सोमवार जारी गरेको विज्ञप्तिमा प्राथमिक शिक्षा तृतीय श्रेणीका स्थायी शिक्षक रामबाबु यादवमाथि बौधीमाई नगरपालिकामा नगरप्रमुखबाट कथित तवरबाट गालीगलौज, दुव्र्यवहार तथा हातपात भएको घटना असाध्यै दुखद रहेको ठहर गरेको हो ।
विद्यालयका प्रधानाध्यापक संजय जयसवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा शिक्षक यादवले घटनाबारे गत वैशाख ३० गते विद्यालय प्रशासनलाई मौखिक जानकारी गराएका थिए । घटनापछि विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरू दुखी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यालय प्रशासनले यस्ता घटनाबाट शिक्षा क्षेत्रमै नकारात्मक असर पर्ने भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरे ।
विद्यालय प्रशासनले नगर प्रमुख माथि लागेको आरोपका बीच मध्यममार्गी बाटो अपनाएको बताइएको छ । जबकी जेनजी पुस्ताको आन्दोलन कै समयमा कसैको नाम नलेखेर सामाजिक संजालमा स्टाटस लगाएको विषयलाई लिएर नगरप्रमुख प्रदीपकुमार यादवले नगरपालिकामा बोलाउन लगाई ७ घण्टा सम्म कोठामा बन्धक बनाएर गाली ग्लौज, हातपात गरेर चरम मानसिक यातना दिएको पिडित शिक्षक यादवले गम्भीर आरोप लगाएको हो ।
यस विषयमा सम्बध निकायहरुमा जानकारी गराउदा समेत स्थानीय प्रहरी प्रशासन कारवाही तर्फ कुनै कदम चाल्न सकेको छैनन् । यसैवीच हिजो नगरप्रमुख यादवले नगरपालिकामै पत्रकार सम्मेलनको आयोजना गरेर शिक्षकद्वारा लगाइएको आरोपहरु सबै निराधार रहेको खण्डन समेत गरेका छन् ।
स्मरणीय रहोस, बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीपकुमार यादवको विवाद संग पुरानो नाता रहेको छ । कहिले बाटो फराकिलो बनाउने निहुँमा जनता माथि हातपात गर्ने, त कहिले जनताहरु उनलाई लखेट्ने, त कहिले स्वास्थ्यकर्मीलाई कोठामै गाली गर्ने अव आएर शिक्षकलाई सात घण्टा सम्म बन्धक बनाएर यातना दिने कार्यबाट उनको कार्य शैलीमाथि गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।
समयमै यस्ता समाज विरोधी तत्वलाई कारवाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ अन्यथा सामाजिक विभेद बढ्दै ठूलो द्वन्द निम्त्याउन सक्ने खतरा बढेर गएको छ ।