कटहरियाबाट बेपत्ता तीन बालक गौर बसपार्कमा सकुशल फेला

संजयकुमार मिश्रा
रौतहट, ३० वैशाख । रौतहटको कटहरिया नगरपालिकाबाट गत सोमवार एकै पटक सम्पर्क विहीन भएका तीनजना बालक अन्ततः सकुशल अवस्थामा गौर बसपार्कबाट फेला परेका छन् ।
घटनाले केही दिनदेखि त्रासमा रहेको परिवार, स्थानीयवासी र प्रहरी प्रशासनलाई ठूलो राहत मिलेका हुन् ।
कटहरिया नगरपालिका–५ स्थित त्रीशक्ति बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत सोही वडाका १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग सोमबार दिउँसोदेखि अचानक सम्पर्कविहीन भएका थिए ।
विद्यालयबाट घर फर्किएपछि “बाहिर खेल्न जान्छौँ” भन्दै घरबाट निस्किएका उनीहरू त्यसपछि घर नफर्किएपछि परिवार चिन्तित बनेको थियो ।
आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा व्यापक खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले तीनै बालकहरूको तस्वीर र हुलिया सहितको विवरण विभिन्न सुरक्षा निकायमा पठाएर खोजी अभियान तीव्र बनाएको थियो ।
बुधबार दिउँसो गौर बसपार्क क्षेत्रमा सम्सुदिन अन्सारीका एक आफन्तले उनीहरूलाई देखेपछि परिवारलाई खबर गरेका थिए । त्यसपछि बालकहरू परिवारको सम्पर्कमा आएको बताइएको छ ।
बालकहरूले आफूहरूलाई कसैले अपहरण नगरेको र स्वेच्छाले सीमावर्ती भारतीय बजार बैरगनिया घुम्न गएको बताए । उनीहरूका अनुसार दुई दिनसम्म बैरगनियामा घुमफिर गरेका थिए भने राति रेलवे स्टेशनमै बसेका थिए । बुधबार गौर घुम्न आएका बेला आफन्तको नजरमा परे ।
घटनाले केही समयका लागि कटहरिया क्षेत्रमा ठूलो त्रास फैलाएको थियो । अहिले भने तीनैजना सकुशल भेटिएपछि परिवार, स्थानीयवासी तथा प्रहरी प्रशासनले राहतको सास फेरेका छन् ।