जनकपुर-जयनगर सडकखण्ड रेल असार १५ भित्र सञ्चालन गर्ने सरकारको तयारी

रौतहट,३१ जेष्ठ//
सरकारले जनकपुर-जयनगर सडकखण्ड रेल सञ्चालन असार १५ भित्रगर्ने भएको छ। असार १५ भित्र रेल सञ्चालन गर्ने तयारी पूरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले निर्देशन दिएका छन् ।मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा रेलवे कम्पनीलाई असार १५ भित्र रेल सञ्चालन हुने गरी कार्यतालिका बनाउन उनले निर्देशन दिएका हुन् ।मन्त्री नेम्वाङले रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई नीतिगत र व्यावहारिक सबै काम सकिएकोले अब रेल सञ्चालनको बाँकी काम सक्ने कार्यतालिका बनाउन निर्देशन दिएका हुन् । निषेधाज्ञाअघि भारतबाट प्राविधिक ल्याएर रेलवे कर्मचारीलाई तालिम दिइएको थियो। यद्यपि अहिले तालिम रोकिए पनि निषेधाज्ञा खुल्दाको अर्को दिनबाट फेरि तालिम सञ्चालन हुने गरी वातावरण बनाउन नेम्वाङले बताएका छन्। उनले रेलवे कम्पनी तथा रेलवे विभागलाई रेल स्टेसनमा जानको लागि पहुँचमार्ग तयार पार्न भनेका छन्।पहुँचमार्ग निर्माणको लागि बजेटको कुनै समस्या नभएकोले तत्काल काम अघि बढाउन भनेका छन्।त्यस्तै उनले पूर्वपश्चिम रेलमार्गअन्तर्गत झापा, मोरङ र सुनसरीको मुआब्जा एक हप्ताभित्रै टुंग्याउन रेल्वे विभागलाई निर्देशन दिएका छन् ।रेल सञ्चालनको लागि आवश्यक सबै काम पूरा हुँदा पनि कोभिड महामारीको दोस्रो लहरले सञ्चालन गर्न नसकेको उनले बताए ।‘असार १५ सम्म निषेधाज्ञा खुले पनि नखुले पनि रेल सञ्चालन गर्नुपर्छ’, मन्त्री नेम्वाङले भने, ‘निषेधाज्ञा नखुले पनि भर्चुअल रुपमा प्रधानमन्त्रीले उद्घाटन गर्नसक्ने गरी तयारी गर्नुहोस्।’ वर्तमान सरकारले मरेको रेलवे कम्पनीलाई ब्युँताएको र भारतसँग सम्झौता गरेर ट्रयाक बेड निर्माण तथा लिक बनाइसकिएको उनले जानकारी दिएका छन्।

error: Content is protected !!