प्रहरी चौकी त्रिभुवन नगरको नयाँ भवनको उद्घाटन गरे डीआईजी रन्जितकारले

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. ३ मा रहेको प्रहरी चौकी त्रिभुवन नगरको नयाँ भवन निर्माण भएको छ ।

दुई वर्षदेखि निजी घरबाट संचालन भइरहेको प्रहरी चौकीको आफ्नै नयाँ भवन तयार भएको हो । नवनिर्मित भवनको सुक्रवार प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकारले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै डीआईजी रन्जितकारले सीमा क्षेत्रमा हुने अपराध, चोरी निकासी नियन्त्रणका लागि जिम्मेवार भएर काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । डीआईजी रन्जितकारले न्यून स्रोत साधन हुँदा समेत नेपाल प्रहरीले प्रशङ्सनीय कार्य गरेको चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल–भारत सीमा नजिकै रहेको प्रहरी चौकी त्रिभुवन नगरको अत्यन्तै पुरानो एवं जिर्ण भवन दुई वर्षअघि भत्काइएको थियो । त्यसपछि निजी घरबाट प्रहरी चौकी संचालन हुँदै आएको थियो ।

दुई करोड ३५ लाख रुपियाँ लागतमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको हो । बेलायती संस्था डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डीएफआइडी) को आर्थिक सहयोग र युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिस काठमाण्डौं (यूएनओपीएस) अन्तर्गत मोडर्नाइजेसन एण्ड एम्प्रुभमेन्ट अफ पुलिस प्रोजेक्ट (एमआइपीपी) को आयोजनामा भवनको निर्माण गरिएको सर्लाही प्रहरीले जनाएको छ । नवनिर्मित प्रहरी चौकी भवनमा ११ वटा कोठा, मेस, स्नान कक्ष र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ ।

error: Content is protected !!